बोली रोकियो

बोलेरै पार लाएँ
एउटा आधी जिन्दगी।
बोलेरै पार भएँ
एउटा आधा बाटो।

बोलेरै जितेँ
झिना मसिना जीवन समर
बोलेरै टारेँ
असह्य दु:ख हार।

बोलेरै दिएँ
कति खुसी कति हाँसो
बोलेरै थुम्थुम्याएँ
तप्किएका कति आँशु।

लाग्थ्यो-
बोली छ र त म छु!

एउटा उही थियो
जोसँग बोल्न खोजेँ
र बोली रोकियो।

@ विस्मय !