निबन्ध- आकर्षण अनुभूति

प्रेम के हो मैले कहिल्यै बुझिनँ ! कसरि गर्नुपर्छ, त्यो पनि बुझ्न सकेको छैन । सायद जिवनमा त्यो समय आउनै बाँकी नै पो होला कि !
म आफूलाई जिवनमा यसअर्थमा पनि भाग्यमानी मान्छु कि मैले कहिल्यै आफ्नो अपोजिट सेक्सको एकदमै निकटमा आफूलाई राख्नुपरेन । कहिल्यै पनि । फोस्रो प्रेमको नाटक गरेर, सपना बाँडेर, सँगै जिउने मर्ने कसम खाएर–खुवाएर या अन्य यस्तै दुर्लभ उधारा बाचाहरु गरेर । जिवन न हो नाथे ! जस्तो चल्यो त्यस्तै चलाएँ ।
तर केही अनौठा आकर्षणहरु चैँ जिवनमा घटे, नघटेका भने हैनन् ।
पहिलो आकर्षण दश कक्षामा घट्यो । आफूलाई पढाउने मिसप्रति ।
ईन्दिरा गौतम, नाम भन्नलाई के आँधि छ र ? भुटानी क्याम्प टिमाईकि । बाले घरमै पढाउनका लागी उनलाई राख्नुभएको थियो । मेरो पढाई राम्रो होस भनेर होला । मेरो पढाई राम्रो भयो या नराम्रो, उनकै कारणले हो या हैन, तर मैले एस.एल.सी. चैँ गतिलै डिभिजनमा पास गरेथेँ ।
शरिरकी अलीक मोटी, गोरी, छाती पुक्क उठेकी, मसिनो बोली, अनी नाक नै छेड्ने गरी पर्फ्युम छर्केर हिँड्ने(जुन उबेलाको हाम्रो समाजमा अनौठै थियो) । पहिलो नजर त के भनौँ, एकाध भेट र एकाध क्लासपछि म उनमा अनौठो गरी आकर्षित भईसकेको थिएँ । उनले छुँदा, छोएर केही सामान्य गल्तीमा प्याट्ट हिर्काउँदा, अरु त्यस्तै सामान्य गल्तीहरुमा मसिनो गाली गर्दा या मेरो कुममा टाँसिएर मैले गरेका हिसाबहरु नियाल्दा । उनको कुमबाट निस्किएको हापिलो तातो अनी मेरा गालामा ठोकिएको श्वासको तातो बाफले नै मेरो भित्र केही चिज जरुर पगालीरहेको हुन्थ्यो । त्यो उनलाई थाहा थिएन । हुन त मलाई नि थाहा थिएन । हुन त थाहा भएरै पनि सबै घटना घट्दैनन् नी त हैन ? त्यो त्यस्तै अञ्जानमै घटिरहेको घटना थियो । अञ्जानमै बढिरहेको आकर्षण थियो । जुन ममा पहिलो पटक घटिरहेको थियो । अनायासमै, अञ्जानमै अनी एकदमै अनाहकको । त्यो पनि एकदमै बिस्तारै ।
परिणाम खासै सुखद भने रहेन । आकर्षण न थियो । बिस्तारै सेलाईगो । सयौँ दिन र रात उसरी नै कटे जसरी कट्नुपर्थ्यो । जसरी गुरु र चेलाको कट्नुपर्थ्यो । उनी मेरो गुरु थिईन र म चेलो । गणीतका अप्ठ्यारा सुत्र भन्दा अप्ठ्यारो गरी जेलीएको मेरो दिमागमा उनको सानो सामिप्यताले पनि केही समाधान जरुर दिन्थ्यो । अंग्रेजीको बुझ्नै नसकिने ग्रामर जस्तो, अर्थशास्त्रको बोझिल माग र पूर्तिजस्तो, या केही अनौठो परिक्षा । जसमा मैले उत्तिर्ण हुन सकिनँ । त्यो त्यत्तिकै सेलाएर सकियो ।
दोस्रो आकर्षण सायद बाह्र कक्षा पढ्दै गर्दा भयो । सिंगो टोलले नै राम्री भनेर उपमा दिएकी केटिसँग ।
पहिलो भेट मुस्कान साटेर भयो । दोस्रो हाई–हेल्लो मा । तेस्रोमा केही गफ निस्किए । र चौथोमा हामी केही नजिक भयौँ ।
हुन त उसको र मेरो कलेज एउटै हैन । घर पनि टाँसिएको थिएन । साथीसंगत कतैको पनि केही नाता थिएन । न पहिलाको कुनै चिनजान । बाटोमा यसै हिँडिरहँदा झुलुक्क देखिएकी केटीलाई पुलुक्क हेरेको मात्र हुँदो हुँ । उसका आँखा पनि सायद मैमा अडिएको हुँदो हो । र त आँखा जुध्यो । अनी ओठ चल्मलाए र मुस्कुराए ।
भन्दै थिएँ । चौथो भेटमा हामीले परिचय गर्‍यौँ । प्रभा गौतम, उसले नाम बताई । कुनै अर्कै कलेजकि विद्यार्थी रहिछ । घर यतै कतै कलेजकै छेऊ बताई । मलाई घरसँग किन मतलब रहन्थ्यो र ?
त्यसपछिका भेटहरु जरुर बाक्लिए । गफगाफ, चिया–चमेना, फिल्महल, पार्क, बिदाको दिनमा रित्तो कलेजको चउर अनी गल्लीका खाली सडकहरुमा हामीले घण्टौँ बितायौँ । यो पनि अर्को आकर्षण थियो । उसको सर्लक्क मिलेको शरिर, खँदिलो छाती, छिनेको कम्मर, उज्यालो मुख । रोमान्टिजमकै व्याख्याताहरुले गर्ने व्याख्याजस्तो । दुरुस्तै । म यिनै कुराहरुमा आकर्षित भएको थिएँ ।
उ पनि मप्रति उस्तै आकर्षित होली भन्ने ममा कन्फिडेन्ट बढेको थियो । नत्र त्यत्रो भेटको के अर्थ र ? ति गफका के अर्थ र ? ति बाटाका के अर्थ र ? ति श्लील–अश्लिल हँस्यौलीको के अर्थ र ? नत्र यो सब हुनुको के अर्थ र ? जुन कुरा सरासर झुट थियो ।
झुट यसअर्थमा थियो कि हाम्रो भेट भएको चौथो महिना उ कसैसँग पोईला गई । ति चार महिनामा मलाई किन थाहा भएन, उसको अर्कै कुनै केटा छ भन्ने ? अर्को परिक्षामा पनि म फेल नै भएँ ।
तेस्रो आकर्षण थियो बि.बि.एस. पढ्दाको । जतिबेला म कुनै केटीलाई होम ट्युसन पढाउँथेँ ।
केटी खास गतिली त थिईन । तर थिई चञ्चल, बाचाल अनी केही उत्ताउली । हर कुरामा तर्क गर्नैपर्ने उसको स्वभाव थियो । जित्नैपर्ने जिद्धि बानी । अनी झुट बोलेरै आफ्नो गल्तीलाई छल्नैपर्ने नाटक । केही दिन मनमा बिरक्ति पलाएपनि मनमा उसप्रतिको टुसाउँदै गएको आकर्षले त्यो बिरक्तिलाई दबाएरै छाड्यो ।
छोटो समयमै म अर्को आकर्षमा फसिसकेको थिएँ । जहाँ पहिलाकै आकर्षणको निरन्तरता थियो । प्रेम थिएन ।
म नजानिँदो उसलाई छुन्थेँ, जिस्काउँथेँ । हातहरु सुम्सुम्याउँथेँ । गालामा प्याट्ट हिकाउँथेँ पनि । तिघ्रा सुम्सुमाईदिन्थेँ । कारण त मलाई पनि थाहा छैन, तर उसले मेरा कुनै हर्कतमा केही प्रतिबाद जनाईन ।
मलाई लाग्छ, यो त्यही समय घुमेर मैमा फर्किएको थियो, जुन बेला म पढ्थेँ र अर्को कोही मलाई पढाउँथ्यो । उस्तै गरी नजिकै बसेर । अनी उस्तै आकर्षित भएर । तर समय फेरीएको थियो र दुईमध्ये एक पात्र फेरीएको थियो । अनी आकर्षणको केन्द्र अलग थियो ।
यो दैनिकी पनि लामो चलेन । म केही काम विशेषले पढाउन छाडेँ । उसले अर्कै ट्युटर पाई । हुनसक्छ कोही मैजस्तो बेवकुफ ।
चोथो आकर्षण केही खास थियो ।
हुन त यो झ्वाट्टै भईदिएको थियो । लामो चिनजान पनि नभएकी कुनै केटी, जोसँग फेसबुकको सामान्य च्याटिङ्ग र केहीबार पल्याकपुलुक देखादेख उप्रान्त अरु केही थिएन । न मनको प्रेम न शरिरको आकर्षण । न एकअर्कामा त्यस्तो केही ज्वाला । बस् केही नभएकैसँग अन्त्यमा सबथोक भईदियो ।
ऊ भद्रपुरकि रैथाने थिई, म बिर्तामोडको पाहुना । हाम्रो चिनजान भद्रपुर तिरै भएको थियो । पछि बिर्तामोड हुँदा पनि बोलचाल निरन्तर भईरहृयो । र यही बोलचालले मलाई भद्रपुर जाँदा र उसलाई बिर्तामोड आउँदा भेट्ने अवसर जुराईदियो । केही भेटपछि उ मेरो कोठामा आई । केही घण्टा बसी । केही छिनमै नजिकिई । के यो सामान्य प्रक्रृया नै त होला नि हैन ? एकलासको कोठा, दुई तरुण शरिर अनी उस्तै चाहनाले उम्लिएको मन । हुनुपर्ने भयो या नहुनुपर्ने भयो ? जुन कुरामा म आजसम्म पनि स्पष्ट हुनसकेको छुइनँ । तर भयो । र यो आकर्षलाई म मेरो आकर्षण यात्राको उन्नत बिन्दु मान्न तयार छु । त्यस्तो रोमान्स, जो पहिला भएको थिएन । त्यस्तो घटना जुन पहिला घटेको थिएन, या घट्न खोज्दाखोज्दै त्यत्तिकै टरेको थियो । त्यस्तो आनन्द जसका लागी माथिका यावत आकर्षणहरु एकपछि अर्को गर्दै जिवनमा घटिरहेका थिए । छोटो तर मिठो । तर हर खोजको अन्तीम उत्तरजस्तो । र यहि चिज हामीले अरु तिन बार दोहोर्‍यायौँ ।
पाँचौँ आकर्षण सम्भवतः प्रेम थियो ।
तर यसको सुरुवात पनि केही खास भने थिएन । फेसबुके च्याट, फोनको सामान्य खिल्खिल्याई अनी मनमा सेक्सको ज्वाला । शारिरक चाहना भन्दा पर्तिर मनको ठेगाना भेट्न यो आकर्षले केही लामै यात्रा गर्नुपरेथ्यो । लामै गफ गर्नुपरेथ्यो । छोटो तर जटिल भेट गर्नुपरेथ्यो । एकक्षणको स्पर्श अनी कहिल्यै भुल्न नसकिने सामिप्यता पर्खनुपरेथ्यो । तर यसको पनि परिणाम भने सुखान्त रहन सकेन ।

…..
आज सोच्छु, जिवन यस्तै आकर्षणहरुको लहर न रहेछ । मनै न हो, कहिले कता दौडिन्छ, कहिले कता बतासिन्छ । हरेक फूल सुन्दर हुन्नन् थाहा छ । तर फूल त फूलै हो । असुन्दर भित्र पनि लुकेको सुन्दरता र त्यसको असिमित चाहले जिवनलाई यस्तै दोसाँध अनी वियोगहरुबाट हिँडाउने रहेछ ।

@ विस्मय !