फराकिलो टेबलको एक छेउमा
बाफ उडिरहेको कपको चिया
जसलाई यो ओठले स्पर्श गर्दै
चियाको पहिलो चुस्की लगाउँदै गर्दा
च्वास्स पोलेको थियो यो जिब्रो।
पोल्नुको अर्थ पोल्नु मात्र थिएन,
बिर्सिएको थिएँ तिमी चिनी जस्तै थियौ
र त घुलनशील छौ भन्ने
तर मसँग त घुलेर पनि फेरि ठोस भएकी हौ तिमी
फेरि अन्तै घुल्न,
जसरी वर्षातको पानी वाष्पीकरणको सहायताले
बादल बने जस्तै।।
यसरी चित्त बुझाउने गरेको छु,
आखिर मेरो अस्तित्व त चियापत्तीमा पो रहेछ,
परिस्थिति अनुरूप स्वरूप बदल्ने त चिनीले रहेछ
र त,
अचेल हर कोहीले खाएको चियाको कपको
पिँधमा छाडिएको चियापत्तिमा म आफूले
आफैंलाई पाउने गरेको छु।
