चरम निराशाले गाँजेको बेला
म घुम्न निस्किन्छु
वर्षौँ पहिला भोकै हिँडेका गल्लीहरुमा।
सोच्छु-
घनघोर विपतमा पनि
कसरी सहज थियो जीवनको गति?
कसरी चल्थ्यो दैनिक गुजारा?
कसरी भरिन्थ्यो पेट?
फेरि सोच्छु-
जीवन- जीवनजस्तै थियो सायद
या त थियो
सपनाको रुमानी उडान।
अथवा थियो
जीवनप्रतिको जिजीविषा।