चोर बन्ने प्रकृयामा

आमा!
म आजकल
चोर बन्ने प्रकृयामा छु ।
विशुद्ध चोर आमा
विशुद्ध चोर..

आजकल म
चोर बन्ने प्रकृयामा छु ।

चोरमा डर हुँदैन रे आमा!
मलाई अघोर डर छ।
चोरमा भय हुँदैन रे आमा!
मलाई कालो भय छ।

सानो उपलब्धि
सानो सन्तुष्टिमै
गहिरो निद्रा मस्त निदाउँछ रे ऊ ।
थोरै ज्ञानको भरपूर उपयोग कसरी गर्ने-
उसलाई राम्ररी थाहा हुन्छ रे ।

हातको कला
कलाको तागत
तागतको प्रयोग
अनि प्रयोगको चोरी…

 ऊ दुनियाँको पर्वाह लिँदैन रे
पर्वाह लिन्छ त केवल आफू आसपासको।
कसको घर कच्चा छ
कसको परिवारमा बच्चा छ
कुन घरमा कलह छ
को बेमतलबी छ
अनि कसको धन कमजोर छ!

तमाम कुरा
तमाम हल्ला
मैले पनि सुन्या’छु

बिन्ती
यो पटकलाई ज्ञानी बनेस् नभन्नुहोला
एकपटकलाई
बिन्ती आमा- एकपटकलाई
मलाई केही आशिष नदिनुहोला
किनभने
आजकल म
चोर बन्ने प्रकृयामा छु ।

चोरमा मुटु हुँदैन रे
किनकी उसलाई थाहा छ-
मुटुमा दया हुन्छ ।
चोरमा दया हुँदैन
दयामा धन आउँदैन ।

चोरमा दिमाग पनि हुँदैन
किनकी दिमागले सोच्न जरुरी छ
सोच्ने मान्छे चोर हुँदैन ।
किनभने
असल सोचले बोकेर ल्याउँछ
थोरै इमान्दारिता
अनि थोरै धर्मको चेत।

उसलाई चाहिँदैन मुटु
अनि त्यसउपरको दया
उसलाई चाहिँदैन दिमाग
अनि दिक्कैलाग्दा सोचाईहरु ।

ऊ त फगत धन चाहन्छ
केवल बेइमान चाहन्छ।
जहाँ धन- त्यहाँ इमान
जहाँ इमान- त्यहाँ सम्मान।

इमान र सम्मानको मोज
मलाई पनि लिनुछ आमा!
दुनियाँले गरेको चाकडी र चाप्लुसीको
गुलियो स्वाद पनि चाख्नुछ ।

मलाई मोह छ आमा
मलाई मोह छ…

त्यसैले आमा
यो पटकलाई
म चोर बन्ने प्रकृयामा छु!

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *