कोलाहलको सुनामी बोकेर
तिम्रो सामु हुत्तिएको थिएँ म
तिमी
पहाड बनेर उभिएथ्यौ
र
रोकेकी थियौ मेरो वेगलाई ।
प्रेमको अर्थ
स्पष्ट बुझेँथेँ मैले त्यही दिन
जब
बिना प्रश्न पाएँथेँ जवाफ
केवल तिम्रो एउटै उपस्थितीमा
जब
तिमीले पक्रिएकी थियौ
मेरा हावाभन्दा अस्थिर हातहरु
र म शान्त भएको थिएँ।