मुटुभित्र गाँठो पारि थन्क्याएका
आँसु हाँसो
सजिला अप्ठ्यारा
डर लाज
हार अनि जितका कुरा
सहि गलत
आवश्यक अनावश्यक
हतारमा अनि फुर्सदमा लिएका निर्णयहरु
म भित्र भएजति सबै
कसैलाई सुनाउन नसकेका कुराहरु सुनाउने
मेरो एउटा साथी थियो!
हरायो!
साथी हराउनु भनेको
दुनियाँ हराउनु रैछ
हाम्रो भावनाको दुनियाँ।
आफन्त हराउनु रैछ
हामीले/लाई सबैभन्दा बढि आफ्नो सोच्ने आफन्त।
सँधै हेरिरहने ऐना हराउनु रैछ
जसले देखाइरहन्थो
आफुमा भएका सुन्दरता अनि खोटहरु!
यात्राको गन्तव्य भेट्ने उत्साह हराउनु रैछ
गन्तव्य भेटिएपनि
सफरको रोमान्चकता कसैलाई सुनाउन नपाउनुमा
त्यो खुसि कहाँ!
अनि
एक हिसाबले आफैँ हराउनु रैछ
आफुले भुलेको बेला
आफ्नो अस्तित्व याद दिलाउने कोहि नभएपछि
आफैँ हुन भुल्ने रैछ मान्छे
हो म आजभोलि आफु हुन भुलिरहेछु।
कसैले भेट्यौ भने कतै
कसैलाई पनि नसुनाएका
एक पोका कुराहरुको भारि बोकेर
बोझिलोगरि धड्किँदै गरेको मेरो मित्रताको धड्कन
मेरो साथीको कानको नजिकै लगेर सुनाइदिनु ल!
किनभने
आजभोलि मेरो साथीले मेरो आवाज सुन्न छोडेको छ।
मूल रचना – शून्यता
Twitter @shunyatah