कहिलेकाहीँ एउटै सिनेमाले बोल्छ
एउटा सिङ्गो जीवन।
कहिलेकाहीँ एउटा गीतमै भेटिन्छ
लामो कहानीको सार।
कहिलेकाहीँ एउटा कवितामै मिल्छ
सपनाको धून।
कहिलेकाहीँ एउटा श्लोकले दिन्छ
असीम आनन्द।
कहिलेकाहीँ
मन भरिएर आउँदा
केवल एउटा हात काफी बन्छ
मन बुझाउन।
कहिलेकाहीँ
आँशु नथामिएको बेला
एउटा बोली पर्याप्त हुन्छ
चित्त बुझाउन।
कहिलेकाहीँ
एक कप चियाले मेट्छ
तिर्खाको तिर्सना।
कहिलेकाहीँ
एकै मुस्काले सेक्छ
मनको जलन।
कहिलेकाहीँ
हिँड्दा हिँड्दै भेटिन्छ
एउटा सुन्दर फूल।
कहिलेकाहीँ
बोल्दाबोल्दै फुट्छ प्रेमको मुल।
एउटा लय हुन्छ जीवनको पनि
खोलाजस्तै, पानीजस्तै
बग्छ
सुस्ताउँछ
उर्लिन्छ
र शान्त हुन्छ…
जसरी
एउटा भेल उर्लिन्छ कहिलेकाहीँ
र सुक्छ फेरि खडेरी बनेर
जसरी
गड्गडाउँछ कतै कन्दरामा निचोरिएर
र शान्त बन्छ मैदान टेकेर