बाइक कुदाउँदैछु। सडकबत्ति बल्छ। रातो बत्ति। रोकिन्छु। तीन मिनेटको लागि रोकिन भन्छ बत्तिले। इन्जिन अफ गरेर चुपचाप बस्छु।
घाम चर्किरहेछ तालुमाथि। निधारमा पसिना चिट्चिटाइरहेछ। धूलोको के कुरा गर्नु काठमाडौँमा ! धुवाँको नसा लिने आदत जो लागेको छ ! श्वास फेरिरहेझैँ- धुवाँ लिन्छु, धुवाँ फाल्छु। धूलो लिन्छु, धूलो फाल्छु। श्वासजस्तै, लिन्छु..फाल्छु..
छेउछाउ हेर्छु। मसँगै थुप्रै गाडीहरू रोकिएका छन्। बाइक, कार, बस, टेम्पो.. इन्जिन अफ गरेर। गाडीभित्र हुनेलाई के महसुस हुँदो हो? सोच्छु.. मलाई जस्तै महसुस हुँदो हो कि! सायद हुँदो हो। घामको सेकाइ नहोला, तर पर्खाईको पट्यार त पक्कै महसुस हुँदो हो।
बाइकमा सवारहरु हेर्छु, चुपचाप बसेका छन्। कोही हेल्मेट खोलेर आकाश हेरिरहेका। कोही मोबाइल चलाइरहेका। कोही फोनमा बात मारिरहेका। कोही पल्याकपुलुक दायाँबायाँ हेरिरहेका। अनि कोही मौन बसेका। तर सबै बत्ति खुल्ने प्रतीक्षामा। अनुहारमा व्यग्रता बोकेर। तर त्यो व्यग्रता यति मौन छ, त्यो यति आन्तरिक छ, कि हामीलाई देख्दैन। तर महसुस हुन्छ।
कसैलाई घर पुग्न हतार होला। शायद सानी छोरी ढोकामा उभिएर बाबालाई कुर्दै होलिन्। बाबाको बाइकको आवाज सुनिनासाथ खुसीले ढोकातिर दौडिन ठिक्क परेर। कसैलाई भर्खरै बिहे गरेकी श्रीमती देख्ने हतार होला। त्यो बिहान छोडेर आएको प्रणय मिलापको तृष्णा मनभरी गुम्म परेर बसेको होला। हुनसक्छ त्यो छेउको बाइकवाला, जो भर्खरै फोनमा मायालु स्वरमा केही बोलिरहेको छ, ‘छिटो आउ है’ भनेर स्नेहमा मिसिएको आदेश पाउँदै होला!
त्यो पछाडीको अर्को एउटा आत्तिएझैँ मुद्रामा छ। केही पीर त पक्कै होला। घरमा छोरो बिरामी पो छ कि! अथवा आमा? कि पत्नी? हुनसक्छ बुढो बाबु अस्पतालमा अन्तिम सास लिँदै हुन्! दबाइको समय भएको छ, अब नपुगे बिरामीलाई असर होला भन्ने चिन्ता लुकेको हुनसक्छ त्यसको आँखामा। बाइकको ह्यान्डल च्याप्दै चिन्ताहरू भित्रभित्रै निलिरहेको हुनसक्छ!
अर्को कोहीलाई आजै मात्रै स्कुलबाट आएको बच्चाको बिलको चिन्ता होला। मुख निस्र्याएको छ। घरमा चामल सिद्धिएको होला। श्रीमतीसँग ठाकठुक पो पर्यो कि? या बैंकको ऋणले तालु सुकेको हुँदो हो।
नजिकै एउटी स्कुटर रोकेर बसेकी छ। चुपचाप केही सोचिरहेझैँ। सायद प्रेमीको यादमा हुनसक्छे। अथवा घरमा बाउले विदेश जान रोकेको चिन्तामा डुबेकी हुनसक्छे। अथवा आमासँग आफ्नो प्रेमीको कुरा गर्दा खाएको गालीले मन भरिएर उदास भएकी हुनसक्छे। अथवा भर्खरै अफिसमा हाकिमले राखेको अनैतिक प्रस्तावले मुर्मुरिएकी हुनसक्छे। अथवा आफ्नो मिल्ने साथीको बिहेको खबरले उत्साहित हुनसक्छे। अथवा जे पनि हुनसक्छ…
के के होलान् है मनभित्र! खोतल्नै थाले के के भेटिएला? कसले कसको मनमा पसेर देख्न सक्छ र? सक्छ त कसैले? जसले भोगिरहेछ, ऊ चुपचाप भोगिरहेछ। चुपचाप सोचिरहेछ। चुपचाप विकल्प खोजिरहेछ। र चुपचाप समाधान गरिरहेछ।
सोचिरहन्छु—कति तनाव होलान् यि सबैका मनभित्र? मगजभित्र? जस्तो अहिले मेरो भित्र धेरै कुरा उम्लिरहेको छ। चलिरहेको छ। दौडिरहेको छ।
ओहो! अझै दुई मिनेट बाँकी छ।
दुई मिनेट? हुन त सामान्य लाग्छ, दुई मिनेट, सिङ्गो जीवन हेरे। अझ सृष्टिको विराट आयतनमा यो घटिरहेको दुई मिनेटले के अर्थ राख्छ र? अरबौँ वर्षको समयमा दुई मिनेट त कहाँ हराउँछ कहाँ!
तर फेरी सोच्छु यो दुई मिनेट मेरो वर्तमान हो। यथार्थ हो। जिउँदोजाग्दो समय हो। जो चलिरहेछ। बितिरहेछ। मसँगै छ। मेरै छेउ छ। जसलाई म प्रत्यक्ष अनुभूत गर्न सक्छु। अनुभव गर्न सक्छु।
दुई मिनेटमा त जिन्दगी फेरिन्छ! मान्छे मर्छ। बच्चा जन्मिन्छ। दुर्घटना हुन्छ। कतै युद्ध सुरु हुन सक्छ। कसैले आत्महत्या गर्नसक्छ। एउटा सम्भोग सिद्धिन सक्छ। र अतृप्तीमा कोही घुर्की लाएर निस्किनसक्छ ढोकाबाट। रिसाएर।
घडीको दुई मिनेट.. संसार नै बदल्न सक्छ।
धत्… के के सोच्छ दिमागले पनि। कि समयले सोच्न बाध्य बनाउने हो मान्छेलाई? नत्र त हामी कहिले सोच्छौं र? हामी कहिले समय निकालेर सोच्न भ्याउँछौँ र? फुर्सद छ र?
रातो बत्तिछेउ डिजिटल घडी काउन्टडाउन दिइरहेछ। उन्नाइस, अठार, सत्र…
म आफ्नो वरिपरी हेर्छु, सबैमा एक किसिमको छटपटाहट महसुस हुन्छ । सबैलाई थाहा छ, बत्ति खुल्छ। हरियो बत्ति बल्छ। सडक खुल्छ। तर त्यो शून्यता? जो भर्खरै, अहिले भर्खरै तिन मिनेट अगाडी सुरु भएको थियो! त्यसको के?
धेरैपटक हामी जीवनलाई हतारमा बाँच्छौं। गन्तव्य पुग्नु छ, लक्ष्य भेट्टाउनु छ, अरूभन्दा अगाडि जानु छ। दौडिनु छ। दौडमा जित्नु छ। तर हामीसँग समय छैन, एकछिन रोकिन, हेर्न, बुझ्न, महसुस गर्न। यो रातो बत्तिको तीन मिनेटजस्तै रोकिने ठाउँ त जीवनमा धेरै आउँछन्, तर हामी त्यसलाई ‘अवरोध’ ठान्छौं।
र सायद यही अवरोध हामीलाई हाम्रो जीवन चिहाउने अन्तर्दृष्टि बनिएर आउने गर्छ।
हामी जीवनलाई सधैं गति र गन्तव्यका रुपमा बुझ्छौं। जति छिटो पुग्न सकिन्छ, त्यति राम्रो। तर कहिलेकाहीँ, त्यो तीन मिनेट रोकिएको बाइकले पनि जिन्दगीका सबैभन्दा गहिरो पाठ पढाइरहेको हुन्छ। हामी कति बुझ्छौँ? कति बुझ्न खोज्छौँ? कति बुझ्न समर्थ छौँ?
जाममा फसेका यि अनजानहरू—ती केवल सवारी चलाइरहेका पात्र होइनन्। ती सबैसँग आफ्ना कथा छन्, विगत छन्, पीडा र उत्साह छन्। एक जना मान्छेको मन कति गह्रौं हुन्छ होला—जब उसले आज समयमा नपुग्दा केही ठूलै कुरा बिग्रियोस्! सम्बन्ध बिग्रियोस्! बाउ मरोस्! पत्नीको अर्कैसँग सम्बन्ध सुरु होस्! पति अर्कैसँग लहसियोस्! यो जो मेरो छेउमा छ, मुस्कुराइरहेको, घर पुगेर आफ्नो छोरीलाई अँगालो हाल्न पाउँछु भनेर कति उत्साहित हुँदै हो!
स्क्रिनमा काउन्टडाउन सकिन्छ.. तीन, दुई, एक… शून्य..
बाइक हुत्तिन्छन्।
लाग्छ सिङ्गो संसार हुत्तिरहेछ। बाइकसँगै जीवन हुत्तिरहेछ। मानौँ शून्यताबाट जुरुक्क उठेर पुनः गतिमा फर्किरहेछ समय। र सायद यही हुत्याइ, यही गतिको नाम हो—जिन्दगी। तर त्यो शून्यता? जसले भर्खरै केही सोच्ने मौका दिएको थियो। फुर्सद दिएको थियो! त्यो तीन मिनेटको मौनता, जसले हामीलाई हाम्रो अस्तित्वको गहिराइ महसुस गराएको थियो, त्यो अब धुवाँ बनेर उडिसकेको छ, बाइकको साइलेन्सरबाट।
कहिलेकाहीँ म चाहन्छु, यस्ता रातो बत्ति बारम्बार परोस् जीवनमा। बारम्बार रोकिन सकुँ यसरी नै जीवनको तीन मिनेट, तिसौ पटक। र रोकिएर सोच्न सकूँ, जीवनलाई। हेर्न सकुँ आफूलाई। परिवेशलाई। मनन गरुँ जीवनको कहर। पीडालाई। आफू आसपासको माहौलबारे गम्भीर बनुँ। र सोच्न सकुँ म को हुँ? कहाँ गइरहेछु? किन गइरहेँछु?
के मैले साँच्चै बुझेको छु, के चाहन्छु म?
सायद यही हतार नै जीवन हो। यही अनिश्चितता नै जीवन हो। यही यात्रा नै जीवन हो। यही रुकावट अनि त्यसपछिको हतार.. सायद यही जीवन हो। कुनै गन्तव्यको खोज, जो आफैँमा स्पष्ट छैन, धूमिल छ, सायद त्यही नै जीवन हो। जीवन छ र त हतार छ! हतार छ र त जीवन छ! हामी अँध्यारो सडकमा दौडिरहेका बाइक हौं, जसले कतै नदेखिने प्रकाशमा भरोसा गरेका छौं। हरेक रातो बत्ति हाम्रो लागि एउटा चेतावनी हो—रोक.. हेर.. सोच..जाऊ…
यी तीन मिनेट कुनै यात्रा रोकिएको समय होइन। यो यात्रा भित्रको यात्राको समय हो। समय भित्रको समय हो। अनन्त सृष्टिचक्रो एउटा विश्राम हो। जहाँ म सडकको एक यात्रु मात्र होइन, आफ्नै भावनाको यात्री बन्न पुग्छु।
सडकबत्ति फेरि बल्नेछ, म फेरि रोकिनेछु। अनि फेरि त्यो मौनता, त्यो शून्यता, त्यो तीन मिनेट मेरो जिन्दगीको ऐना बन्नेछ। जुन ऐना हेरेर म आफैंलाई अझ राम्रोसँग चिन्न खोज्नेछु।
के साँच्चै म आफूलाई चिन्न सकुँला त?
खैर, हुन त केही प्रश्न कहिलेकाहीँ अनुत्तरित नै रहन्छन्…