साँघुरो घैंटोभित्र माटो जमाएर
उमारिएको वटवृक्षझैँ
मैले आफ्ना दुइटा हाँगाहरु फैलाएँ
र
म ओइलाएँ।
आफ्नो वरिपरि निसास्सिँदो पर्खाल पाएर
अनि मैले
मुक्त वायुमा सास फेर्न ठिङ्ग उभिएका
आफ्ना पाँच नाङ्गा औँलाहरु पट्याएँ।
प्रकाशनको खोजीमा दगुरेका
आफ्ना हस्तरेखाहरुलाई पछाडि फर्काएँ
र
अब म आफ्नै मुट्ठीभित्र बन्द छु
आफ्नै कठोरताभित्र कैद छु।
तर कुनै दिन
तिमीले चिन्न सके
आफूभित्रको बतासलाई
र प्रकाशलाई
तिमीले जान्नेछौ कि
बाहिरबाट जतिसुकै कठोर भएपनि
भित्र–भित्रै म कोमल छु
यो बन्द मुट्ठीभित्रका हत्केलाझैँ !