गल्लीको त्यो ठेलाबाट
चिया पिउँदै-
कति प्रेम सुरु भए र टुङ्गिए
कति योजनाहरु बने र भत्किए
कति यात्रीहरु आए र अस्ताए।
ठेलाले के देखेन?
प्रेम-बिछोड
आँशु-हाँसो
कसैको केही सुनिदिने
कोही नहुँदा पनि
सुनिरह्यो ठेला
पिलाइरह्यो चिया।
सुन्दैछु-
आजकल
गल्लीबाट ठेला गायब छ रे!