के यो देश गुमनाम छैन र?
जहाँ पाइलैपिच्छे
अस्तित्वको रक्षाका लागि
अस्तित्व लुटाउनुपर्छ।
जहाँ पाइलैपिच्छे
याद गर्न
यादहरुलाई नै भुलाउनुपर्छ।
जहाँ एउटा घाउको पिडा बिर्सिन
अर्को चोट सहनुपर्छ।
जहाँ बाँच्न मात्रै
पलपल मरिरहनुपर्छ।
जहाँ
जीवनको हिसाब खोज्ने गणित छैन।
जहाँ आफ्नो परिचय भेट्टाउन
देशको परिचय बिर्सिदिनुपर्छ।
जहाँ मान्छेमा आत्मा छैन,
केवल शरीर छ
त्यस्तो देह-
जो चल्छ, हिँड्छ, खान्छ र सुत्छ
फगत हाड मासुको एउटा संरचना छ
अरु केही छैन।
आत्मा मरिसकेको मृत देह
जसमा
वासना हुन्छ- प्रेम हुन्न
सौर्य हुन्छ- विचार हुँदैन
उत्तेजना हुन्छ- शालीनता हुँदैन
बल हुन्छ- धैर्य हुँदैन …
पाखुरे बलमा ठडिएको
सत्ता, शक्ति र शासनबाट
के आस राख्नुहुन्छ तपाईँ?
भिडले गरेको शासनबाट
के पाउनुहुन्छ र तपाईँ?
जसमा त केवल
गर्जन, शासन र दमन हुन्छ।
मेरो देश
तिनै उल्झन् र अल्मलमा
कतै गायब छ।
मेरो देश हराएको धेरै भयो
म त्यही गुमनाम देशको वासिन्दा हुँ।
हराएर पनि कतै त जानुपर्ने!
उसोभए
कहाँ छ त मेरो देश?
मेरो देश,
अलिकति कतारमा छ,
अलिकति साउदीमा छ,
अलिकति मलेसियामा छ।
केही अस्ट्रेलियातिर
केही अमेरिकातिर,
केही युरोपका गल्लीहरुमा।
अनि
धेरै त भारतका दरबाजाहरुमा
दरबान बनेर उभिएको छ।
मेरो देश,
अरबिक, कोरियन,
अङ्ग्रेजी, फ्रेन्च,
जापानि अनि हिन्दीमा
परिभाषित भएर आएको धेरै भयो।
कतै रुस युक्रेनका मैदानमा भाडाको जङ्ग लड्दालड्दै
कतै युरोप, मलेसिया र खाडीमा हड्डी घोट्दाघोट्दै
मेरो देश, बाकसमा फर्किएको पनि धेरै भयो।
मेरो देश त्यतै कतै छ
मेरो देश यतै कतै छ
तर भएर के गर्नु?
गुमनाम छ!
देश बनिन देश हुनुपर्छ-
जुन यहाँ छैन।
त्यस्तो देश
जसको भाषा हुन्छ,
संस्कृति हुन्छ,
संस्कार हुन्छ,
पहिचान हुन्छ।
पहिचान?
त्यो के हो?
जात… धर्म… लिङ्ग…
अनि
मुद्दा… मुद्दा… मुद्दा…
नारा देश हो?
कि
आन्दोलन देश हो?
टुक्रा टुक्रामा टुक्रिएर
खण्ड खण्डमा बाँडिएर
दल, झण्डा, जात
अनि सगोत्रीका भिडहरुमा छरिएर
बाझेर, झगडिएर
भिडेर र लडेर
मेरो देश
फगत नाराको कोलाहल बनेको छ।
यो देश- देश होइन,
नारा भइसकेको छ।
(तस्विर- लैनसिंह वाङ्देलको चित्रकला)