भूपी शेरचनको कविता- मैनबत्तीको शिखा

शुभ्र, शान्त र स्निग्ध
शिखा मैनबत्तीको।

मानौ,
प्रथम रजस्वलापछि
स्नान गरेर
शारदीय घाममा
आफ्नो कौमार्य छरेर
थकित–थकित झैँ
चकित–चकित झैँ
एक्लै–एक्लै मुस्काइरहेको
हनुहार हो यो कुनै
सुन्दरी नवयुवतीको।
शुभ्र, शान्त, स्निग्ध
शिखा मैनबत्तीको।

आँखाभरि वेदनाको पानी
तर, हर्षले हाँसिरहेछ आँखाको नानी
मानौं, अप्रेशनपछि
होशमा आएर
घोर पीडामा पनि
शिर अलिक उठाएर
नवजात शिशूलाई निहालिरहेको
सन्तुष्ट आँखा हो यो
कुनै पुत्रवतीको।
शुभ्र, शान्त र स्निग्ध
शिखा मैनबत्तीको।

एकातिर धप्प–धप्प
बलिरहेछ अनुहार
अर्कातिर तप्प–तप्प
बगिरहेछ अश्रुधार।
मानौ यो कुनै विधवाको
त्यो क्षणको अनुहार हो
जब कि उसलाई आएछ याद
एकसाथ
सुहागरात र स्वर्गीय पतिको।
शुभ्र,शान्त र स्निग्ध
शिखा मैनवत्तीको।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *