एक-
याद माथि याद आउँछ, विश्राम छैन हिँजो-आज
सम्झिएरै थकित हुन्छु, आराम छैन हिँजो-आज।
डराउँछ, बर्बराउँछ- मन पनि बेलगाम छ,
यो मनलाई काबु राख्ने, लगाम छैन हिँजो-आज।।
दुई-
प्रेमका कुरा मात्रै होइन, गन्थन पनि हुनुपर्छ,
चाहना र रोजाइको मन्थन पनि हुनुपर्छ।
अन्धाधुन्ध बेतोड उडान मात्रै होइन जिन्दगी,
जरासँग जोडिराख्ने बन्धन पनि हुनुपर्छ।।
तीन-
चाहनाको कुनै मापन हुँदैन
अथाह छ त्यो- समापन हुँदैन।
जति पाए पनि अधुरै लाग्ने,
जोड घटाउले समाधान हुँदैन।।