सपनामा- गोपालप्रसाद रिमाल

मेरो हरघडीमा जपना,
तिमी आज सपनामा आए !

यही आशाको पिलपिले बत्ती लिएर
यो आधारातमा
म आफूलाई
निद्राको घोर जङ्गलमा छोडिदिन्छु।

बत्ती हुरीमा निभ्ला,
म अलमलिउँला,
केही छैन!
तिमी मेरो पुग्ने ठाउँझैँ
एक्कासि देखा मात्र परे,
तिमी आज मेरो सपनामा आए !

सपनामा तिमी सुरुसुरु आउन सक्छौ,
न पर्खाल, न पहरा-
बिपनाको पखेटा सपना न हो !
चाहन्छौ भने उडेर आऊ न,
को रोक्छ?
मन लागे तिमी
दुष्यन्त भएर आऊ,
म शकुन्तलाझैँ फूलको सुसारमा हुन्छु।

अथवा
कथाका राजकुमारझैँ देशभ्रमण गर्दागर्दै
राक्षसले लुटिएको सुनसान शहरमा आइपुग,
एकलासको बगैँचामा सुतिरहेकी मलाई
एक्कासि फेला पार।
मलाई
बाबु-आमा भन्न कर परिरहेका
राक्षसहरुबाट
छुटकारा दिन कम्मर कस,
म राक्षसहरुलाई आँसुले छकाएर
तिनीहरुको काल पत्ता लगाइदिन्छु,
तिमी उनीहरुलाई मार,
मलाई हर !

अथवा
मलाई झुक्यानमा पारेर यस्तो बेलामा आइपुग
जब म
मेरो लाज र सङ्कोचको
पातलो घुम्टो र सप्को हाल्ने बहनासम्म गरुँ,
बल गर्नै नसकूँ !

तिमी आऊ-
बिपनाको हराएको मणि नै सपना न हो !
पृथ्वी पनि त निद्राजस्ता गहिरा समुद्रको पानीमा
स्वर्गको दौलत चन्द्रमा र तारा पाउँछिन्।

मेरा राजा !
मेरा परेला निद्राले भारी हुनै लाए,
तिमी आज सपनामा आए!

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *