लङ्काको रावणलाई
जित्न नसकुँला म
तर मनको रावण जित्नेछु।
सुम्पेर सबैथोक तिमीलाई
सजाइदिनेछु अशोकवाटिका।
पर्खुँला, तड्पुँला,
रोउँला, विलाप गरुँला।
तिम्रो प्रतिक्षामा
एक एक पल
निमेष निमेष
जलुँला र जिउँला
राम जस्तै।
मेरी सीता
मैले प्रत्यञ्चा चढाइसकेँ
के तिमी मलाई
वरण गर्न तयार छौ?