बेघर छु, अब एउटा घर बनाउनुछ
घरदेखि अलग आफ्नै थर बनाउनुछ।
तरल थिएँ पानीजस्तै बग्थेँ अनि सल्बलाउँथेँ
धेरै बगेँ- मुटु अब प्रस्तर बनाउनुछ।
अग्लिनु नै जीवन ठान्थेँ चढ्दै थिएँ उकालोमा
सुस्ताउँदै सपनालाई समथर बनाउनुछ।
कता हिँडे? कता पुगेँ? अल्मलिएँ आधा बाटो
मोडिएर अर्कैतिर सफर बनाउनुछ।
उत्साह’थ्यो सबै मर्यो, खै कहाँ कता सर्यो!
शून्यबाट सुरु हुने रहर बनाउनुछ।