भूपी शेरचनको कविता- घैंटोभित्र वटवृक्ष

साँघुरो घैंटोभित्र माटो जमाएर
उमारिएको वटवृक्षझैँ
मैले आफ्ना दुइटा हाँगाहरु फैलाएँ

म ओइलाएँ।

आफ्नो वरिपरि निसास्सिँदो पर्खाल पाएर
अनि मैले
मुक्त वायुमा सास फेर्न ठिङ्ग उभिएका

आफ्ना पाँच नाङ्गा औँलाहरु पट्याएँ।

प्रकाशनको खोजीमा दगुरेका
आफ्ना हस्तरेखाहरुलाई पछाडि फर्काएँ

अब म आफ्नै मुट्ठीभित्र बन्द छु

आफ्नै कठोरताभित्र कैद छु।

तर कुनै दिन
तिमीले चिन्न सके
आफूभित्रको बतासलाई

र प्रकाशलाई
तिमीले
जान्नेछौ कि
बाहिरबाट जतिसुकै
कठोर भएपनि
भित्र–भित्रै
म कोमल छु
यो बन्द मुट्ठीभित्रका हत्केलाझैँ !

-भूपी शेरचन

Leave a Reply

Your email address will not be published. Required fields are marked *