नेपाली लोककथा जितमहान्
कुनै समयको कुरा हो । एउटा गाउँमा एउटी विधवा महिला बस्थिन् । उनका जिम्मामा दुई सासु ससुरा थिए । जल्दो बल्दो उमेरमै श्रीमान् बितेको र सासु ससुरा पाल्ने पोस्ने भार पनि उनी एक्लैमा आइपरेको हुँदा तिनको जीवन बहुतै कष्टकर थियो । आम्दानीको श्रोत केही थिएन । त्यसैले उनी अरुका घरबाट धान ल्याएर सुकाइदिने र त्यसबापत केही चामल लिएर परिवारको गुजारा चलाउने गर्थिन् ।
एक समय लामो झरी चल्यो । महिनौँ दिनसम्म परेको झरीले संसारै डुबाएजसरी पृथिवी नै पानीमय भएको थियो । केही छिन रोकिन्थ्यो र फेरी पर्न थालिहाल्थ्यो झरी । घामको झुल्को समेत देखिएन महिनौँसम्म ।
विधवाको घरमा धानको थुप्रो लागेको थियो, सुकाउन भनेर गाउँबाट मान्छेहरुले ल्याइदिएको धानको थुप्रो । तर धान सुकाउन घाम थिएन । घामको झुलुक्क अनुहार समेत देखिएको थिएन । विधवाको छट्पटी प्रत्येक दिन बढ्दै थियो । आफ्ना वृद्ध सासु-ससुरालाई खुवाउन सुकाउने गरि समेत घाम देखिएन ।
आखिरमा आजित भएर विधवाले देवतासँग प्रार्थना गरिन् – हे भगवान् घाम लगाइदेऊ ! मैले अर्काको धान लिएकी छु । बुझाउनुछ । बुझाएर त्यसबापत आएको अन्नले यी बुडाबुडीको पेट भर्नुछ । भुख मेट्नुछ ! यदी तिमीले घाम लगाइदियौ भने म देवतासँग पिरती लाउनेछु ! प्रेम गर्नेछु । आफैँलाई सुम्पिनुपरे पनि सुम्पिनेछु । तर यस्तरी बिचल्ली नबनाइदेऊ !
देवताले उनको कुरा सुने । र सूर्यदेवलाई उनको घरमा जान आज्ञा दिए ।
लगत्तै उनको आँगनमा झरक्क घाम लाग्यो । छिनभरमै सारा धान पनि सुक्यो । विधवाले सुकेको धान उठाइन् र कुटेर चामल निफन्दै धानका धनीलाई बुझाउन गाउँतिर लागिन् । धान बुझाउन गाउँतिर घुम्दा घुम्दै रात परिसकेको थियो । एक त झमक्कै रात परिसकेको थियो भने त्यसमाथी फेरि पानी दर्किन सुरु भएकोले उनी घर फर्किन सकिनन् । र गाउँकै कुनै घरमा बास बसिन् ।
यता देवताले उनको प्रार्थना बिर्सिएका थिएनन् । उनले प्रार्थना गर्दै घाम लगाइदिए बापत देवतासँग पिरती लाउने वचन दिएकी थिइन् । सोही वचन सम्झिएर देवता राती विधवाको घरमा आए । विधवाको घरमा आई उनलाई खोज्दा देवताले भेटाएनन् । र रिसले चुर हुँदै भान्साकोठामा गई पिसाब फेरिदिए । धरर गर्दै देवताको पिसाब भान्सामा राखेको सागको मुठोमाथि पर्यो । भान्सामा मूत्रत्याग गरिदिएर देवता फिर्ता गए ।
अर्को दिन बिहानै विधवा घर फर्किइन् । घरमा आएर कामधन्दा सुरु गरिन् । घरको सरसफाई गरिन् । खाना बनाइन् । सबैलाई खुवाइन् । अनि आफूले खाने बेला तरकारी सकिएकाले त्यही देवताको पिसाब लागेको सागको मुठो झिकिन् । र पकाएर त्यही सागसँग भात खाइन् ।
उता देवताको पिसाब पनि चानचुने थिएन । त्यो पिसाब परेको साग खानासाथ तत्कालै विधवाको गर्भ बस्यो । देवताको गर्भ । विधवा गर्भवती भइन् ।
समय बित्यो । महिना पुग्यो । विधवाले एउटा छोरो जन्माइन् । छोरो जन्मिएर हुर्किन समय लागेन । ऊ खेल्ने कुद्ने उमेरको भयो ।
एक दिनको कुरा हो, साँझमा छोरो एक्कासी रिसाउँदै- रुँदै जस्तो गरेर घर आइपुग्यो । उसको अनुहारमा लाज, डर र संशयका भावहरु मडारिइरहेका थिए । छोराको यस्तो अनौठो रुप देखेर आमाले कारण जान्न चाहिन् र सोधिन् ।
छोराले रुँदै रिसाउँदै भन्यो – आमा सबैले मलाई बाउ नभएको छोरो भन्छन् । बाउको नाम सोध्छन् । बतासे भन्छन् । तँ, बिना बाउको छोरो होस् ! कि त बाउ देखा नभए जा आमासँग सोधेर आइज तँ कसको छोरा होस् भनेर खिज्याउँछन् । मलाई भन्दिनु आमा! मेरो बा को हो?
छोराको यस्तो अनौठो कुराले आमा सुरुमा त एकछिन् छक्क परिन् । अकमक्क पनि भइन् । तर बिस्तारै कुरा बुझिन् । सोचिन् – हुन त यो कुराले एक न एक दिन बाहिर आउनु नै थियो । ढिलो चाँडो मात्रैको कुरा थियो । आफ्नो छोरालाई बिना बाउको छोरो भनेर कसै न कसैले त भन्ने नै थियो ।
त्यसपछि छोरालाई सुरुदेखिको सारा घटना सुनाइन् । र सम्झाउँदै भनिन् – तेरो बाउ भगवान् हो छोरा । बरु जा- भगवानलाई भेटेर आइज । म सतुवा बाँधिदिन्छु । बाटाका लागि खानेकुरा तयार पारिदिन्छु । जति दिन जानुपरे पनि जा । जति टाढा जानुपरे पनि जा । तर आफ्नो बाउलाई भेटेर आइज ।
यसरी छोरो आफ्नो बाउ खोज्न घरबाट निस्कियो ।
महिनौँ बित्यो । उसले भगवान अर्थात आफ्नो बाउको खोजीमा लामो यात्रा गर्योे । र एकदिन भगवान भएको ठाउँमा पुगेरै छोड्यो ।
देवताले सुरुमै देख्नासाथ उसलाई चिनिहाले । यो उनकै छोरो थियो । उनले बुझे, उसलाई उसकी आमाले पठाएको । आफ्नो छोराले बिना बाउको छोरो हुँदा पाएको दुख र त्यसपछिको कष्टकर यात्राबारे पनि थाहा पाए ।
देवताले आफ्नो छोरालाई चिन्नासाथ अङ्गालो हाले । हर्षले गद्गद भए । अनेकौँ अनेक दिन आफूसँगै राखे । र यसरी लामो समय बाबु छोरा सँगै बसेपछि एकदिन छोराको विदा हुने दिन आयो । उसको पृथ्वीमा जाने दिन आयो । आफ्नो देश जाने दिन आयो ।
अन्त्यमा विदाइको अङ्कमाल गर्दै देवताले छोरालाई आशिष दिए- तँ मेरो छोरा होस् छोरा । देवताको छोरा । अबदेखी तैँले मनुष्यसँगै बसेपनि तँ देवताकै छोरा भएर रहनेछस् । तँलाई अबदेखी कसैले बिना बाउको छोरा भन्ने छैन । तँ त बरु भगवानको छोरा भएर रहनेछस् । उल्टो संसारले तेरो पूजा गर्नेछ । र अबदेखी तेरो नाम जितमहान् रहनेछ । र जितमहानका रुपमा तेरो नाम अमर हुनेछ ।
देवताको यति आशिष पाएपछि छोरा मनुष्यहरुको माझमा फर्कियो । र जितमहान् भएर चिरकालसम्म मानिसहरुमा पुजिन गयो ।
(प्रस्तुत लोककथा सर्लाही जिल्लामा प्रचलित लोकप्रिय धार्मिक लोककथा हो । यो कथाको विषयवस्तु मैले विभिन्न स्रोतहरुबाट साभार गरेको भएता पनि यसमा प्रयुक्त भाषा र शैली मेरो मौलिक हो ।)