मैले त बिर्सिसकेको रहेछु। तर उसले त्यसरी सम्झिएला भन्ने मैले सोचेको थिइनँ। बिल्कुलै थिइनँ…
विक्रम हो उसको नाम। कुनै समय हामी एउटै कलेज पढ्ने ब्याची थियौँ। घनिष्ठ त नभनौँ तर एक लेभलको मिल्ने साथीमध्ये पर्थ्यो ऊ। क्लासको ब्रेक टाइममा या कार्यक्रमहरुतिर चिया सुट्टा चल्थ्यो। केही निजी कुरा पनि हुन्थ्यो। र राम्रै हँसीमजाक पनि हुन्थ्यो।
कुरो के भने, एकपटक उसले मसँग हजार रुपैयाँ सापटी माग्यो। खासै ठूलो रकम त थिएन, तर कलेज लाइफ, त्यही त हो! पाँच सय रुपैयाँ गोजीमा हुनु पनि खुबै धनाड्य फिल हुने समय थियो त्यो। मसँग थिएन। त्यसैले बहाना बनाएँ। र दिइनँ।
तर ऊ भने भूतजसरी पछि लाग्यो। आफ्नो आपत सुनायो। सापटी माग्नुको मजबुरी बतायो। मलाई कति नजिकको ठानेर उसले सहयोग माग्दैछ भनेर विश्वास दिलाउने कोसिस गर्यो। मलाई पगाल्न खोज्यो। र म पग्लिएँ।
सापटी लिएर गएको साथी, दुई चार दिन त नजिकै थियो। मेरो त्यो सानो सहयोगले उसको ठूलै समस्या टरेको कुरा सुनाइरन्थ्यो।
तर जसै समय बित्दै गयो र सापटी फिर्ता गर्ने समय आयो ऊ त अचानक मबाट भाग्न पो थाल्यो। कलेजतिर पनि खासै देखिन छोड्यो। कतै झुक्किएर जम्काभेट भइहाल्यो भने पनि अनुहार बिगारेर करैले मुस्कुराउँथ्यो र चुपचाप छेऊ लाग्थ्यो। मैले बोलाउन खोजेँ। तर ऊ भागिरह्यो। त्यही क्रम महिनौँ चल्यो। र बिस्तारै हामीबिचको दोस्तीयारी लगभग सकियो ।
कलेज सकियो। कलेजका दिनहरु पनि सकिए। सबै आफ्नो आफ्नो जीवनलाई अगाडी बढाउन लागे। कोही जागिरे भए। कोही पढाइका लागी सहर छोडे। कोही विदेश गए। त कोही कलेज हापेर गाउँ फर्किए। हाम्रो कलेज लाइफ पनि त्यसरी नै सकियो लगभग, जसरी आम विद्यार्थीहरुको सकिने गर्छ। म पनि कुनै सानो तिनो कम्पनीमा काम गर्न सुरु गरेको थिएँ। व्यस्तता बढेको थियो।
त्यसैले बिस्तार बिस्तार कलेजका सम्झनाहरु पनि धमिलो हुँदै केवल सम्झनामै सिमित हुँदै गएका थिए।
अहिलेजस्तो सामाजिक सञ्जालको जमाना पनि थिएन त्यो। सञ्जाल आइसकेको त थियो। तर उस्तो प्रभाव जमाइसकेको थिएन। मान्छेको आधारभूत आवश्यकता बनिसकेको थिएन। आवश्यकता कम र शङ्का ज्यादा थियो त्यस्ता सञ्जालप्रति।
त्यसैले एकाध बाहेक कलेजका साथीहरु छुटेका थिए। को कहाँ थियो कमैलाई थाहा हुन्थ्यो। एकदमै घनिष्ट भए जोडिन्थ्यो नत्र मतलब थिएन।
विक्रमसँग पनि त्यही भयो मेरो। ऊ हरायो। मैले पनि चासो राखिनँ।
यसरी यो कथाको एउटा अध्याय त्यहीँ सकियो।
तर कथाको अर्को अध्याय तब पल्टियो जब वर्षौँपछि एकदिन अचानक फेसबुकमा विक्रमको फ्रेन्ड रिक्वेस्ट आयो। मैले रिक्वेस्ट एसेप्ट गरेँ। उसले तत्कालै मेसेज गर्यो- ‘हेल्लो साथी! कता छौ?’
मैले आफू काठमाडौँमा भएको बताएँ। ऊ पनि काठमाडौँमै रहेछ। अर्को दिन भेट्न समय माग्यो। मैले ठेगाना दिएँ वानेश्वरको कफीसपको।
भेट हुनु संयोग नै थियो। किनभने वर्षौँपछि एक अर्कालाई चिन्न पनि नसक्ने गरी हामीमा परिवर्तन भइसकेको थियो। जिउडाल त्यो थिएन, जुन कलेज पढ्दा थियो। अनुहार पुरै फेरिसकेको थियो। बोलाई, व्यवहार र हाउभाउमा परिपक्वता थियो। उमेरगत बदलाव थियो।
तर पनि हामीले चिन्यौँ। एकअर्कालाई राम्ररी चिन्यौँ। र पुराना कुरा सम्झिएर गफियौँ।
उसले आफ्नो जीवनका कथाहरु सुनायो। मैले पनि सुनाएँ। घर गृहस्थीका कुरा भए। काम रोजगारीका कुरा भए। कलेज सकेर ऊ जापान भासिएछ। उतै बिहे गरेछ। उतैकी केटी। वर्षौँ रेस्टुरेन्टमा काम गरेर पछि आफ्नै रेस्टुरेन्टको मालिक पनि बनिसकेको रहेछ। जुन कुरा उसले गर्वका साथ सुनायो।
उसले आफ्नो संघर्ष र सफलताका कथा सुनायो। हाम्रो गफको सुरुदेखि उही बोलिरहेको थियो। उसैको जीवन, उसैका कथा, उसैका सफलताका कुरा। ऊ बोलिरह्यो। म मुन्टो हल्लाउँदै सुनिरहेँ।
तर मलाई स्पष्ट महसुस भइरहेथ्यो, उसले आफ्नो कथा यसरी तिलस्मी शैलीमा भन्दैथियो- मानौँ उसले विश्व विजय गरेको छ। मानौँ मलाई नै सुनाउनका लागि ऊसले ति सारा कथा थुपारेर लिएर आएको छ। मानौँ ऊ मलाई नै ताकेर केही बताउन चाहिरहेको छ। केही संकेत दिइरहेको छ। – हेर.. मैले जीवनमा के गरेँ- जस्तै गरेर।
म हाँसु? या रोउँ? हो भनुँ? या हैन भनुँ? जस्तै भएर उसका कुरा सुनिरहेँथेँ।
लगभग एकाध घण्टाको त्यो बसाइ मलाई झ्याउ लाग्न थालिसकेको थियो। मैले आफ्नो व्यस्तता बताएँ। र ऊबाट छुट्कारा पाउन खोजेँ।
– कुनै समय मैले तिमीसँग हजार रुपैँया सापटी लिएको थिएँ है?
रेस्टुरेन्टको बिल हातमा लिँदै उसले मतिर ध्यानै नदिएजस्तै गरी बोल्यो।
उसको यो अकस्मातको कुराले म अक्मकिएँ। केही बोलिनँ।
– कलेज पढ्दै के त! उसले बिलबाट बिस्तारै आँखा उठायो र सिधा मेरो अनुहारमा हेर्यो।
हाम्रा आँखा जुधे। उसका आँखामा अचम्मको तेज थियो।
– खै यार! उबेलाको कुरो हो! मैले त बिर्सिएँ। खैर! लिएकै भए नि जाबो हजारको के कुरा भयो र साथीभाइमा?
– नजिस्क न यार! ओठका कुनामा व्यङ्गात्मक मुस्कान निकाल्दै उसले पर्सबाट हजारको नोट निकाल्यो र मेरो अगाडी टेबलमा राख्दै भन्यो- लेउ यार। तिम्रो सापटी मैले फिर्ता गरिदिएँ।
उसको यो व्यवहार अकस्मात थियो। म असमञ्जसमा परेँ। र हठात टेबलमाथीको नोट उसैतिर ठेलिदिएँ – धत् के गर्या यार यस्तो! बैंकको लोन हो र? साथीभाइमा?
ऊसले फेरी नोट मतिर ठेल्यो। मलाई झनक्क रिस उठ्यो। र फेरी नोट उतिरै धकेल्दै झर्किएँ- तिम्ले यही हजारको नोट दिन मसँग भेट्न खोजेको थियौ?
म प्रस्ट देख्न सक्थेँ उसका आँखा र अनुहारको ग्लानी र संकोच। र सँगसँगै देखिरहेको थिएँ त्यो ग्लानी र संकोचभित्र लुकेको अहंभाव र बडप्पनको झल्को।
उ केहीबेर शान्त भयो। अनुहार खुम्च्यायो। केही सोचेझैँ गर्यो र मेरा आँखामा आँखा जुधाउँदै बोल्यो
– साथी जीवनमा मैले कति मान्छेसँग सापटी लिएँ हुँला! लाखौँ करोडौँको कारोबार गरिसकेँ हुँला। कतिको पैसा त तिरिनँ पनि होला। तर मलाई कहिलै त्यसको हिसाबले पोलेन। पिरोलेन। तर तिमीसँग लिएको त्यो हजारको नोटले मलाई आजसम्म पनि पिछा छोडेको छैन।
म फेरी पनि अवाक् भएर उसलाई हेरिरहेँ।
उसले हल्का नजर झुकायो र बिस्तारै उठ्न खोज्दै बोल्यो- म यहीँ टेबलमा छोडेर जान्छु यो नोट। तिमी राखे राख, नराखे वेटरले लान्छ। म अहिले निस्किएँ!
ऊ जुरुक्कै उठ्यो र मलाई हेर्दा पनि नहेरी सरासर ढोकाबाट बाहिर निस्कियो।
म किंकर्तव्यविमुढ भएर उ गएको हेरिरहेँ।
मेरा अगाडी टेबलमा हजारको नोट लमतन्न थियो।