कृष्णभूषण बलको कविता- काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन

काठमाण्डू एक्लैले अब
काठमाण्डू बोक्न सक्दैन
काठमाण्डू एक्लैले अब
सिंगै नेपालको अर्थ लगाउन सक्दैन ।

नाघ्नुपर्छ पैतलाहरुले-
अब भनज्याङ्गहरु
टेक्नुपर्छ आँखाहरुले-
अब सारा पहाडहरु
उड्नुपर्छ निश्चित लक्ष्यहरुमा-
अब यो छिमलका चराहरु
ज्वालामुखीझै फुट्नुपर्छ-
अब यो पिढीका स्वरहरु
छाम्दै हातहरुले काँडाहरु-
अब टेक्न सक्नुपर्छ
काठमाण्डू त अब
डाँडाहरुमा बिछिन सक्नुपर्छ ।

एउटै ढुङ्गाले कुनै घर बनिन सक्दैन
ढुङ्गाको तहतह हुनुपर्छ
एउटै पोखरीको कुनै ताल हुँदैन
थुप्रै दहदह जम्नुपर्छ
हुटिट्याउले सगर थाम्न खोजेर थामिन सक्दैन सगर
वर्षे भेलको सानो चपेटले मेट्न खोजेर मेटिन्न बगर
पहाड, मधेश, थुम्काथुम्की र उकालीओरालीको देश
कसेको पेवा होइन
कसैले ठेक्का लिएर पनि हुनेछैन
मुहान जो बग्नुपर्छ 
जम्नुको यसको कुनै अर्थ हुँदैन

काठमाण्डू एक्लैले अब
काठमाण्डू बोक्न सक्दैन
काठमाण्डू एक्लैले अब
सिंगै नेपालको अर्थ लगाउन सक्दैन ।

खोरमा थुनिएर पनि
बिहानीको संकेत दिन्छ कुखुराको भाले
निरर्थक प्रयासमा युग हाँस्छ ,
बलिसकेको दिनलाई हुस्सुले ढाक्न खोजे
टुँडिखेलका प्रत्येक सुरहरुमा
घोडा छाडेर त्यत्तिकै डटेकै छ इतिहास
टाप बजारेर कुदिरहेको घोडालाई
त्यत्तिकै चाबुक लगाइरहेछ एउटा उपहास
अनिष्ठ भन्छन् सपना देख्नेहरुपनि
यस्तो कालो घोडा र कालो मान्छे

तर
काठमाण्डू छातमिाथी बोकीरहेकै छ
यस्ता कतिकति इतिहासका मान्छे
किन थाहा भएन तिमीलाई
एउटा रौंलाई मात्र भनिन्न केश!
किन थाहा भएन तिमीलाई
एउटै इतिहाँसको मात्र हुँदैन देश!
काठमाण्डू वास्तवमा भित्रभित्रै छटपटिएको छ
काठमाण्डू वास्तवमा भित्रभित्रै गुम्सिएको छ
मञ्जुश्रीको अर्को तरवारको विकास खोजीरहेको छ ऊ
युगका गह्रौ पाइलाहरु अब धेरै बोक्न सक्दैन
यसैले बग्ने निकास खोजीरहेको छ ऊ ।

काठमाण्डू एक्लैले अब
काठमाण्डू बोक्न सक्दैन
काठमाण्डू एक्लैले अब
सिंगै नेपालको अर्थ लगाउन सक्दैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *