तिमी गयौ अझै केही बात बाँकि’थ्यो
छोडिएको अलपत्र रात बाँकि’थ्यो ।
स्पर्श त्यो मदमस्त रौनकता त्यो उत्ताउलो
स्नेहले सुम्सुम्याउने हात बाँकि’थ्यो ।
झरेजस्तै शून्यतामा पातजस्तै पलापला
थुम्थुम्याउने काँधमाथि साथ बाँकि’थ्यो ।
मुटुभरि अँटेसमटेस भरिएथे चाहहरु
आउन बाँकी एउटा कुनै प्रभात बाँकि’थ्यो ।
पग्लिएको मुटु थियो बर्सिनलाई ठिक्क थियो
मन खोलेर तप्किदिन वर्षात बाँकि’थ्यो ।
तिमी गयौ अझै केही बात बाँकि’थ्यो
छोडिएको अलपत्र रात बाँकि’थ्यो ।