सिद्धिचरण श्रेष्ठको कविता- कहानी

तिमी बाँचेकी भए
म सोध्थेँ—
के तिमी … ?
होइन- केही पनि सोध्दिनथेँ।

तिम्रो काखकी बच्चीलाई
म दिनहुँ आएर खेलाइरहन्थेँ,
माया गर्थें
उसको निर्दोष हृदयको
म सच्चा साथी बन्थेँ,
अनि
तिमीले लिन आउँदा पनि

ऊ मेरो काखमा लुक्न आएकी
तिमीलाई देखाइदिन्थेँ—
तिमी बाँचेकी भए ।

जब त्यो बच्ची बालिका हुन्थी
पुतलीजस्तै खेल्ने हुन्थी,
नाच्ने हुन्थी,
अनि म तिम्रो गाउँको स्कुलको
मास्टर भएर आउने थिएँ,
अनि
ऊ पनि स्कुलमा पढ्न आउँथी,

म पढाउँला—
पढ्न, संसारका कुराहरू जान्न–बुझ्न
ऊ उत्सुक भएको
म तिमीलाई देखाइदिन्थेँ—

तिमी बाँचेकी भए ।

एक दिन ऊ तरुनी बन्थी
शिक्षाको उज्यालो पस्थ्यो
तिमी उसको बिहे गराउन
कोही केटाको तलास गराउँथ्यौ होली,
उसले कसैलाई प्रेम गरेकी हुन्थी
तर जात नमिलेकाले
तिमी त्यहाँ छोरी दिन चाहन्नथ्यौ,

मलाई आएर
छोरीलाई सम्झाइबुझाइदेऊ भन्न आउँथ्यौ,

अनि
त्यो छोरीले यसो भनेको देखाइदिन्थेँ—

‘रूख एउटा जात हो,
पशु एउटा जात हो—
मानिस–मानिसको पनि
जात नमिल्ने कुरा कहीँ हुन्छ ?’

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *