बिस्तारै अङ्कुराउँछ सम्बन्ध-
फुल्छ, फल्छ
र फक्रिँदै पुग्छ उत्कर्षमा।
कति सपना सजिन्छन्
कति योजना बनिन्छन्
कति वाचा कति प्रणहरु
बन्छन् भत्किन्छन्
भत्किन्छन् बन्छन्।
सम्बन्ध-
प्रस्तरको महलझैँ बिस्तारै उठ्छ
घामपानी खप्छ तप्छ।
अनि एकदिन अचानक~
तासको घरझैँ ढल्छ अनाहकमै
त्यतिबेला
चुपचाप हेर्नबाहेक
विकल्प रहन्न…