गजल- आमा तिम्लाई हँसाउन

आमा तिम्लाई हँसाउन मुस्कान बेच्न सक्छु मेरो
मुटुभित्र ठडिएको इमान बेच्न सक्छु मेरो।

यो जिन्दगी के हो र पाएको छु संसार हेर्न
पाएको छु यदी भने! वरदान बेच्न सक्छु मेरो।

पुगेको छ,बाँचेको छु, ठाडो शीर उभिएर
उठाउन तिमीलाई सम्मान बेच्न सक्छु मेरो।

काँ पुगौँला म? छुट्टिएर- तिम्रै पाउको ओरिपरी
बतासिएँ कतै भने उडान बेच्न सक्छु मेरो।

थाक्ने छैन दुनियाँमा, जहाँ जता पुगे पनि
फर्किनलाई ढोका सामु थकान बेच्न सक्छु मेरो।

जे सिकायौ जति दियौ पर्याप्त छ श्वास फेर्न
अरु सबै संघर्ष हो ज्ञान बेच्न सक्छु मेरो।

ढुङ्गाभित्र देवताको अस्तित्व छ यदि भने
धर्म तिमी प‍ूजा तिमी भगवान बेच्न सक्छु मेरो ।

 

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *