उन्मत्त विचारहरु लाड पसारिरहेछन् मस्तिष्कमा

उन्मत्त विचारहरु
लाड पसारिरहेछन् मस्तिष्कमा ।

सोचको धूमिल परिदृश्य
अस्पष्ट झैँ दिमागी पर्दाहरुमा
झिर्मिर झिर्मिर
किर्मिर किर्मिर
झर्झराउँदै नाचिरहेछन्
उन्मत्त विचारहरु
लाड पसारिरहेछन् मस्तिष्कमा ।

एक हुल रङ्गीन सपनाहरु आए
मल्टीकलरमा चल्मलाए
उफ्रिए, गाए
नाचे, कराए
अनि
छेक न छन्दको
बाँध न बन्धको
कोकोहोलो मच्चाए
हराए ।
मानौँ
कुनै श्यामश्वेत चलचित्रझैँ
बिना रङ्ग
बिना ढङ्ग…

दुःखका शृङ्खलाहरु ओर्लिए फेरी
आफ्नै लयमा
क्रन्दनका कर्कश आवाजहरु चिच्याए
अनि बल्झाए अतीतका सपनाहरु
चाहनाहरु
मुड, जड
बितेको कुनै एउटा लाचार सपना
जसको उपलब्धी देखिनुपर्थ्यो- देखिएन
आफैँलाई खिल्ली उडाए
बिलाए ।

कुनै समय थियो
प्रेमको उल्लासी दिन थियो
तिनै प्रेम बोकेर
एउटा नदी बग्थ्यो अनन्तमा
तिनै सपनाहरु तिर्मिराए
र कठोर बनेर आँखामा छचल्किए ।

ति विचार थिए
पुराना अनि थोत्रिएका
रहरहरु
चाहनाहरु..
फेरी एकपटक
नवीन ताजा बनेर फर्किएका
सजिएका
बल्झिएका
मनभरी, दिमागभरी !
तिनै बितेका विगतहरु
घुम्दै नाचिरहे
नाच्दै घुमिरहे।

तिनै चिहान बनेका अतीत बोकेर
उन्मत्त विचारहरु
लाड पसारिरहेछन् मस्तिष्कमा ।

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *