ईश्वरवल्लभको कविता- प्रस्थानको तरखर

केही असल मानिसहरूजस्तै
पन्छीहरू हाँगाहाँगा जम्मा हुँदै थिए
आज,
अझै त्यो पुर्बेली हावा चलेन

सुकेको एउटा पात पनि झरेन।
हुन त
मनको पीर आँधीजस्तै दुख्छ,

त्यसैले बिर्सिदिए हुन्छ-
यस्ता कुराहरू

म अब डिलमा उभिएर हेर्छु,
तल फेदीमा नदी आयो कि आएन!
केही दिनअघि त्यहीँबाट त्यो नदी
मेघ भएर आकाश गएको थियो
त्यसैले
पानी बग्न पायो कि पाएन!

समुद्र गर्जेको थियो
किनार र फाँटहरूलाई
उसले खुब हिर्काएको थियो

माझीहरू खोइ?
आफ्ना पतवार लिएर आएका छैनन्
यसपालि त आँधीबेहरी नै आउने भयो
अब त घर जानुपर्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *