सिद्धिचरण श्रेष्ठको कविता- जीवन चलिरहेछ

जीवन चलिरहेछ ।
कता गएर शीर्ण-विशीर्ण हुने हो
या कता पार पुगेर अड्न जाने हो-
सब कुरा परिस्थितिकै हातमा सुम्पेर
भड्किरहेको जहाजझैँ जीवन चलिरहेछ ।

बेहान हुन्छ, दिउँसो आउँछ, रात जान्छ
असजिलो फुटाई सजिलो पार्न खोज्छ
बेअर्थको हाँसो हाँस्छ
आफ्नैजस्तै गहिरो रुवाइ रुन्छ ।
जीवन चलिरहेछ – महाशून्यसित जिस्किरहेछ ।

सानुकी आमा आएर भन्छे –
“भरे के खाने ? केही छैन,
केटाकेटी भोक छन् ।”
नुहेको टाउको बिस्तारै उठाएर म पनि भन्छु-
“के गर्ने, मसित पैसा छैन ।”
यस्तै नमिलेको रोह,
आत्मासँगको द्रोह
अस्तित्वको मोह आदि
विवशतामा बोराबन्दी पार्दै
जीवन चलिरहेछ – महाकालसित लडिरहेछ ।

मेरो आजको यतिको अर्थपूर्ण प्रयास
सिन्का उठाउन ब्रह्माण्ड बोक्न सक्ने शक्तिको ह्रास !
यी स्वास्नी, छोराछोरीको सुखमा
एक सिता भात पार्न
ब्रह्माण्ड उज्यालो पार्न सक्ने मेरो जाज्वल्यमान विचार
खर्च भइरहेछ,
अस्तित्व फुटिरहेछ,
कालले मेटिरहेछ,
जीवन चलिरहेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *