दैवज्ञराज न्यौपानेको कविता- म त्यस वेला पनि

समय छाल बनेर बग्दैछ
म नदी किनाराको वृक्ष भएर अडेको छु;
कतिखेर, कुन दिन,
अझै वेगको आँधी आउने हो
त्यतिखेर,
म चूपचाप किनाराबाट उखेलिएर
कुनै गन्तव्यहीन यात्राका लागि
लक्ष्यहीन यात्री बनेर जानेछु।

त्यतिखेर
मेरा हाँगा र पातहरूमा
कुनै स्पन्दन रहने छैन;
मेरा शाखा प्रशाखाहरूमा
कुनै चरा आएर बस्ने छैनन्;
पुतली रमाएर खेल्ने छैनन्;
छु भन्नुको अर्थ
म र मेरो अस्तित्व
केवल सारहीन, अर्थहीन र महत्त्वहीन भएर रहने छ।

गल्दै र सड्दै गएका मेरा काण्डहरूबाट
म आफैँ विलीन हुँदै जानेछु,
कतै टाढा मेरो म-
मबाटै बेग्लिएर
कुनै अर्को अस्तित्वमा पुनर्जीवित हुनेछ।

म त्यसवेला पनि
आफ्नो अस्तित्वलाई सम्झिएर
आफ्नै अन्तरहरूमा खोज्दै रहनेछु ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *