मन त थियो-
तिमीसँगै बसेर कविता पढुँ।
देवकोटा पढुँ
भूपी पढुँ
नेरुदा पढुँ
र पढुँ अज्ञेय, टैगोर र दिनकरहरुलाई।
पढुँ-भागवतका श्लोकहरु
र चेखबका कथाहरु।
चर्चा गरौँ वेदान्तका
र कोट्याउँ मार्क्सका व्यथाहरु।
मन त थियो नि…
तर हेर न!
परिबन्धले बेरिएको,
समय थोरै फेरिएको।
कुनै दिन त आउला प्यारी
अहिलेलाई धैर्य राख!
म यतिबेला
फ्रान्सेली राज्यक्रान्ति पढ्दैछु।