नास्तिक दिवसको दिन, बिहानै उसले फेसबुकमा स्टेटस लेख्यो – ‘धर्म अफिम हो !’
दिनभर नास्तिकताका विषयमा प्रवचन दिन निम्ता थियो । भौतिकवादीहरुले आयोजन गरेका कार्यक्रमहरुमा गयो । नास्तिकता सम्बन्धी चर्का कुरा राख्यो । संसारबाट धर्म उन्मुलन हुनैपर्ने कुराको यस्तरी पैरवी गर्यो कि, उपस्थितहरुले समेत उसको कुरा सुनेर आँखा फुलाए । र मनैमन उसलाई आफ्नो ‘नास्तिक आदर्श’का रुपमा वरण गरे ।
यसरी दिनभरको दौडधुप र कार्यक्रमले थकित ऊ, साँझ घर फर्कियो । आफ्नो कुराले पारेको प्रभाव र थप आठ / दश जनाको आदर्श बन्न सकेकोमा मनैमन खुसी हुँदै नुहाउन गयो ।
स्नानपछि आफूलाई शुद्ध बनाउँदै जनै फेर्यो । र पवित्र भएर मन्त्र फलाक्दै ‘पूजाकोठा’मा धूप जलायो ।