हिजो एक मित्रकहाँ गएको थिएँ,
एउटा पोको कोठाको कुनामा,
दलिनमा झुण्डिरहेको थियो
ती-
अब फेरि आउने जाडो छल्न सुरक्षित राखिएका
सिरक र दोलाईँहरू हुनुपर्छ पक्कै पनि
मलाई लाग्यो-
म पनि झुण्ड्याइदिउँ
एउटा ठूलो पोको पारेर
व्यर्थै मलाई चिमोटिरहने
यी सपनाहरूलाई,
कतै आउला कि कुनै यस्तो दिन,
जब,
फुलाएर तिनै सपना
आँखाहरूका फूलबारीमा
हाम्रा छोरा-छोरी
र नाति-नातिनाहरू
आनन्दका गीत गाउँदै
खेत गोडिरहेका हुनेछन्!