जब-
कुनै पुरानो किताबको
भित्री पानामा
भेट्छु एउटा सुकेको फूल
तब
तिमीलाई सम्झन्छु ।
जब-
दराजको सानो कुनामा कतै
पाउँछु पुरानो मफलर
तब
तिमीलाई सम्झन्छु ।
जब-
खोतल्छु मनको आलमारी
र टक्टकाउँछु धूलो जमेका यादहरुलाई
सम्झन्छु एउटा धूमिल इतिहास
र हेर्छु मनको ऐना
तब
तिमीलाई सम्झन्छु ।