नदेखाउनु मलाई
तिम्रो रङ्गीन दुनियाँका
तिलस्मी सपनाहरु ।
सपना देख्न
निदाउने फुर्सद छैन मलाई ।
नसुनाउनु मलाई
विजेताका गौरवशाली युद्धकथाहरु
एउटा सिङ्गै जीवनसमरको
रक्तिम कहानी मसँग पनि छ ।
नभन्नु मलाई
संघर्षको स्वाद कस्तो हुन्छ भनेर !
म
माटो चाखेर आएको छु ।