विजय मल्लको कविता- तिमी हाँसे

प्रिये,
त्यो दिन सम्झँदा
तिमी नै यस खोलाको तरंगबाट लहरिँदै आउँछ्यौ।

अहिले
चीसो हावाले कानमा सरसराएर भनेको
तिमीले बोलेजस्तो लाग्छ ।
पर्वतको अविच्छिन्न मालालाई हेरेर
विस्मयलाई अँगालेजस्तो हात बाँधेर
भनेकी थियौ –
यसको पार पाइन्छ ?
मैले भनेथेँ-
पाइन्छ ।

बागमतीको नागबेलीलाई हेरेर
अनिश्चितताले औँला टोकेझैँ
तिमीले त भनेकी थियौ –
यसको मूल भेटिएला ?
मैले भनेथेँ —
भेटिन्छ ।

पहाडलाई चुम्बन गर्न लागेको
गुलाबी बादललाई संकेत गरी
तिमीले भनिथ्यौ –
यसलाई समेट्न सकिएला ?
मैले भनेथेँ – सकिन्छ ।

त्यसो भए –
मैले भनेथेँ- ब्रम्हाण्ड नै सानो हुनेछ
तिमीले एकफेरा मात्रै हाँसे।

– विजय मल्ल

Leave a Reply

Your email address will not be published. Required fields are marked *