बिहानै-
बेहुलीले घुम्टो उघारेझैँ
बिस्तारै उघ्रियो क्षितिजको पर्दा
र धपक्कै बल्यो आकाश
चम्कियो सुदूर पारको हरियो पहाड ।
बल्यो, जग्मगायो सिङ्गो धर्ति
हाँस्यो अनि खित्खितायो फूल ।
बिहानै-
चियाको तातो बाफ
मडारिँदै उठ्यो
र बिस्तारै फैलियो हावाका लहरहरुमा
बत्तियो
बिलायो।
बिहानै-
बिस्तारै सुरु हुँदैछ एउटा नयाँ दिन ।