कृत्रिम हाँसो नहाँस्नु
बरु रिसाइदिनु केहीबेर
म मुस्कुराउँदै फकाउनेछु ।
झुटो हार्दिकता नदेखाउनु
बरु पर्खाइदिनु मूलढोकामा
म धैर्य राखेर उभिनेछु ।
हेर न !
संसार
कसरी बिस्तारै बन्द हुँदैछ
सिसाको बाकसभित्र ।
अझै त
चेतना जीवित छ मभित्र
तिमीभित्र…
त्यतिञ्जेल नै सही
वास्तविकतामा बाँचौँ न हामी
हुन्न ?