निबन्ध- कहिलेकाहीँ

कहिलेकाहीँ एउटा सिनेमा हेर्दै एउटा जीवन हेरेजस्तो लाग्छ। हलको अध्यारो कुर्सीमा बस्दा पर्दामा उज्यालो भएर देखिने ती दृश्यहरू फगत कथा मात्र लाग्दैनन्, ती त जीवित अनुभूतिहरू भएर सामुन्ने आइपुग्छन्। या कोठाको खाटमा ढल्किएर टिभीको स्क्रिनमा हेरिरहँदा। या मोबाइलमा घोत्लिएर, एक्लै बसिरहँदा। सिनेमाका एक एक दृश्य, एक एक कथा, एक एक अभिनय र एक एक जीवन- कहिले काँही हाम्रो आत्मामा स्पर्श गर्छ—जीवनको केही पानाहरू पल्टाएर जान्छ। कुनै दृश्य, जहाँ एक युवक आफ्नो बाआमाको सपना पूरा गर्न संघर्ष गर्छ, हामीलाई हाम्रै संघर्षको कथा सम्झाउँछ। कुनै दृश्य, जहाँ दुई प्रेमीहरू समयको कठोरताबीच बाँचिरहन्छन्, हामीलाई हाम्रै प्रेमकहानीहरु सम्झाउँछ। नायकको सुख दुःखसँगै आफ्नै वेदनाहरु एकपछि अर्को शृङ्खला बनेर आँखासामु आइपुग्छ।

मैले थ्रि इडियट्स हेर्दा धेरै कुरा महसुस गरेको छु। ससङ्क रिडेम्पसनमा महसुस गरेको छु। फरेस्ट गम्पमा महसुस गरेको छु। अनि अरु हजारौँ सिनेमाहरु, कतिको त नाम र पात्र सम्मै बिर्सिएँ सायद, तर आफूलाई पाएको छु।
ति सिनेमा केवल देखिने दृश्य मात्रै होइनन्, ति त आत्माको गहिराइमा पस्ने एउटा अनुभव हुन्—जहाँ आफ्नै वेदनाहरु गुञ्जिन्छन्, आफ्नै असफलताहरू बल्झिन्छन्, र अधूरा सपनाहरुको फेहरिस्त बनेर आउँछन्। र पर्दाको त्यो आवाज, त्यो मौनता, त्यो आँशु—सबै हामीभित्रको कुनै कोठामा घर बनाउँछन्।

कहिलेकाहीँ यस्तै अनुभूति गीत सुन्दा पनि आउँछ। कहिलेकाहीँ एउटा गीतमै लाग्छ, आफूलाई कसैले पुरै पढेर, बुनेर, अनि लयमा हालेर गाएको हो। कुनै साँझ जब मन भतभताएर आउँछ, अनि मोबाइल खोलेर नारायण गोपाल सुन्छु, “मेरो घाउ तिमी नहाँसे पो दुख्छ” झन् नारायण गोपालका प्रायः सबै गीतमा म आफूलाई पाउँछु। मैले भोगेको प्रेम, चोट, साहस, र मौन स्वीकारोक्ति सबै तिनै लयभित्र मिसिएर बगिरहन्छ।

र यस्तै अनुभूति भक्तराजमा पनि पाउँछु। दीप श्रेष्ठमा पाउँछु। दिपक खरेलमा पाउँछु। र पाउँछु फत्तेमानका गीतहरुमा।
गीतहरू भनेको केवल वाद्ययन्त्रको संगित होइन। ती त आत्माको कम्पन हुन्—कहिलेकाहीँ नबोलेका शब्दहरू, नलेखिएका पत्रहरू, नपुरा भएका वाचा—सब गीत बन्छन्। गीतले हामीलाई हाम्रो भित्री आवाज सुनाउँछ। कहिलेकाहीँ त्यो आवाज कहिले सुमधुर हुन्छ, कहिले कराइरहेको। तर जुनसुकै स्वर होस्, त्यो सधैं सत्य हुन्छ।

फेरि कहिलेकाहीँ एउटै कविताले अनुभूतिहरूको बाँध भत्काउँछ। कहिलेकाहीँ एउटा कवितामै मिल्छ सपनाको धून। भूपि शेरचनको कविता पढ्नुस् त! हरिभक्तका कविताहरु। क्षेत्रप्रताप अधिकारी।
तपाईँले ईश्वरवल्लभ पढ्नुभएको छ? छैन भने अहिलै पढ्नुहोस्..
कविता भनेको कल्पनाको चित्रण मात्र होइन, त्यो त भावना र सौन्दर्यको संगम हो। त्यहाँ प्रेम पनि हुन्छ, पीडा पनि, आक्रोश पनि, शान्ति पनि।
एउटा राम्रा कवितामा शब्दहरूभन्दा बढी मौनता बोल्छ।

र त श्लोकहरूको कुरा गर्दा त्यो अनुभूति अझ गहिरो, अझ दिव्य बन्छ। कहिलेकाहीँ एउटा श्लोकले दिन्छ असीम आनन्द। जब कुनै प्राचीन संस्कृत श्लोक सुन्छु र मनमनै गुन्गुनाउँछु.. त्यसले दिने असीम आनन्द, असीम शान्ति र असीम उर्जा.. जुन शब्दातीत लाग्छ। अनि त “सत्यं शिवं सुन्दरम्” — केवल श्लोक होइन, जीवनको सार लाग्छ। त्यहाँ सत्यताको तेज हुन्छ, शिवताको गहिराइ, र सौन्दर्यको बिम्ब। गीताको कुनै एउटा श्लोक, जो मनको भित्री तहमा कतै अवचेतन अवस्थामा रहेको हुन्छ र एक दिन अचानक अर्थ खुल्छ—”आत्मा अजर, अमर छ।” अनि त्यो दिन, मृत्युको डर हराउँछ, पीडाको औचित्य देखिन्छ।

वासांसि जीर्णानि यथा विहाय नवानि गृह्णाति नरोऽपराणि।
तथा शरीराणि विहाय जीर्णा- न्यन्यानि संयाति नवानि देही।।

श्लोक भनेको केवल धार्मिक पाठ होइन। त्यो त एक प्रकारको संगीत हो, जसले आत्मालाई लयमा राख्छ। जब हामी श्लोक सुनौं, त्यसले कुनै अदृश्य तरंगमा मन शान्त बनाउँछ। त्यो शान्ति कुनै निन्द्राले दिन सक्दैन, कुनै औषधिले ल्याउन सक्दैन। एकदमै अद्भूत आध्यात्मिक स्पर्श।

अनि कहिलेकाहीँ.. सबैभन्दा गहिरो कुरा तब महसुस हुन्छ, जब हामी कसैले बोलेको सानो सान्त्वनाको स्वरमा असीम शान्ति अनुभव गर्छौं। असीम सुख अनुभव गर्छौँ। कहिलेकाहीँ मन भरिएर आउँदा केवल एउटा हात काफी बन्छ मन बुझाउन। एउटा बोली काफी लाग्छ। एउटा हेराइ काफी लाग्छ। त्यो हात त्यो बोली त्यो हेराई.. कहिले आमाको हुनसक्छ, जसका हात हाम्रो निधारमाथी थामिएर बोलिरहेको हुन्छ- “सञ्चै त छस् नि!” कहिलेकाहीँ त्यो हात प्रेमिकाको हुन्छ, जसले आँशु पुछ्छे र केही नबोली भन्छे, “म तिमी सँग छु।” त्यो हातले कुनै चमत्कार गर्दैन, तर त्यसले दिने सान्त्वना र मनको शान्ति अलग हुन्छ।
जीवनमा कहिलेकाहीँ यस्तो मोड आउँछ, जहाँ शब्द सकिन्छ, तर्क व्यर्थ लाग्छ, अनि केवल एउटा हात पर्याप्त हुन्छ मन थुम्थुम्याउन।

कहिलेकाहीँ आँशु नथामिएको बेला एउटा बोली पर्याप्त हुन्छ चित्त बुझाउन। “म तिमीलाई बुझ्छु”—यी चार शब्द जुनसुकै पुस्तकभन्दा बढी मूल्यवान् लाग्छ। कुनै गम्भीर रात, जहाँ मन सागरझैँ उठ्छ, अनि कसैले सानो स्वरमा भन्छ, “रो, मन हलुका हुन्छ”—त्यो बोली आँसुभन्दा नरम हुन्छ, र यसै मन थुम्थुमिन्छ, “हो, म एक्लो छैन।”

त्यसैले त कहिलेकाहीँ लाग्छ, जीवन बुझ्न encyclopaedia चाहिंदैन—कहिलेकाहीँ एउटा फिल्म, एउटा गीत, एउटा कविता, एउटा श्लोक, एउटा हात, अनि एउटा बोली नै पर्याप्त हुन्छ। एकदमै साना साना कुराहरु। झिना मसिना जस्ता लाग्ने कुराहरु। जसको प्रभाव हामी बुझ्दैनौँ.. तर हामीलाई डोहोर्याइरहेको हुन्छ।

मन केवल मन मात्रै हैन यो त तीव्र अनुभूतिको पुलिन्दा पनि हौं। मनको मन बुझाउन कठीन छ। हामी भोग्छौं, सहन्छौं, बिर्सन्छौं, र सम्झन्छौं। र त्यो सबको खेलाडी.. एकमात्रै खेलाडी मनै न हो! अनि यिनै अनुभूतिहरू कलामा झल्किन्छ, सम्बन्धमा झंकृत हुन्छ, र जीवनमा अर्थ दिन्छ। र मन बुझ्छ। मनले मन बुझाउछँ।

जीवन सधैं शब्दमा बुझिँदैन, तर भावनामा महसुस हुन्छ। अनि ती भावना यस्तै कहिलेकाहीँ सिनेमा, गीत, कविता, श्लोक, वा एउटा न्यानो स्पर्शमा भेटिन्छन्। यस्तै साना मसिना कुराहरुमा भेटिन्छन्।

अनि त कहिलेकाहीँ जीवन.. साँच्चै जीवनजस्तै लाग्छ…

 

@ विस्मय !