भैरव अर्यालको कविता- अमरावती कान्तिपुरी नगरी

कतिका दिन याहिँ बिते सुखले
यतिका कविता रचिए मुखले ।
अब झल्झल भो म भुलूँ कसरी
अमरावति कान्तिपुरी नगरी।

कहिँ घर्घर ज्यावल–मेशिनको
कहिं चिर्बिर गान रसिला चरिको
हरियो गहुँ झुल्दछ फाँटभरी
अलकापुरि कान्तिपुरी नगरी।

कटि कूच कसी हिँडन्या युवती
चलन्या पथमा नलजाई रति
सँगमा छ युवादल ओरिपरी
अमरावति कान्तिपुरी नगरी।

पथ सात–फुटे बस नौ गजको
सिट बीस भए भिड सौतकको
छ त अन्त कतै सुविधा यसरी
अमरावति कान्तिपुरी नगरी।

पिसकोर यहीँ घुसखोर यहीँ
नव–जोर यहीँ दिलचोर यहीँ
जति छन् सब छन् धनवानसरी
अमरावति कान्तिपुरी नगरी ।

मृत मूषिकको बुटि झर्छ जहाँ
हिँड्दा डुलदा टुपि जल्छ जहाँ
कुतिको कलरव अझ ओरिपरि
अमरावति कान्तिपुरी नगरी।

थलियाभरि पस्कि झिँङ्गालु रस
अटियाउपरै कुतिसाथ बस
खूब खाउ चपाउ पिऊ सुमरी
अलकापुरि कान्तिपुरी नगरी।

शव सालिक पूजित हुन्छ जहाँ
सिँगुलै उभिँदा तर मिल्छ घुणा
दिलदार उदार कहाँ यसरी
अमरावति कान्तिपुरी नगरी।

(भैरव अर्यालको निबन्ध ‘अमरावती कान्तिपुरी नगरी’ भित्र ‘भानुभक्त लय’मा भैरवले लेखेको कविता)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *