मैले कविता लेख्न सिकेकै भूपीबाट हो। उनैले मलाई शब्द दिए, अक्षर दिए, अक्षरहरुको जोड-घटाउ सिकाए, त्यसको लय सिकाए, सुर-ताल सिकाए र सिकाए विम्ब प्रतिकहरुको मिठास। यसो यसो खोस्रिए यसरी यसरी डोर बन्छ है केटा! भन्दै कविताको गोरेटो कोर्न सिकाए…
भूपीले मलाई धेरै सिकाए। लगभग सबै नै सिकाए। म जन्मनुभन्दा धेरै नै वर्ष पहिले संसारबाट बिदा भइसकेर पनि नभेटेरै, नदेखेरै, नबोलेरै, आमुन्ने सामुन्ने नभइ नै कविताको विराट संसारसँग परिचय गराए। यसरी बिना गुरुदक्षिणा मेरो गुरु बने भूपी।लेख्न सकिनँ होला। खह्रो उत्रिन सकिनँ होला। सिक्दैछु नै हुँला। त्यो फरक कुरा हो।
म सोच्थेँ, कविता कर्म कठीन कर्म हो। लेख्न कठीन हुन्छ! बुझाई नै त्यस्तै थियो। जस्तो- कविता लामो हुन्छ! क्लिष्ट हुन्छ। कथा-कहानी हुन्छ। अनेक नियम हुन्छ। नियमको बन्धन हुन्छ।
उबेला-जतिबेला कविता के हो भन्ने थाहा थिएन- त्योबेला, कविताप्रति मेरा त्यस्तै तमाम भ्रमहरु थिए। मलाई कविता के हो भन्ने पनि थाहा थिएन। कविता के होइन भन्ने पनि थाहा थिएन। लेखनाथ, देवकोटा, सम र भानुभक्तका कविता पढेर हुर्किएँ (सबैको हुर्काइ झैँ)। ति कि त छन्दोबद्ध हुने गर्थे, कि चाहीँ शब्दहरुको जालो। जालो पनि यस्तो जालो लाग्थ्यो कि, ति कताबाट सुरु भएर कता घुस्रिन्थे र कता पुगेर फुक्थे- थाहा हुन्थेन।
देवकोटाका कविता पढ्नुभएको छ नि? उनका बाल कवितालाई छाड्ने हो भने ति कति कञ्चट दुखाउने छन् हगी? चाहे ‘पागल’ पढुँ, चाहे ‘यात्री’! (हुन त पागलको तुलनामा यात्री कविता केही सरस छ।) तर पनि देवकोटाको समग्र कविता अर्कै पाराको छ। जुन शैली मेरो कहिल्यै प्रिय बनेन।
(नोट- देवकोटा पनि त्यत्तिकै प्रिय छन् है मेरा लागि! तर भूपीको कुरा भइरहँदा तुलनामा ल्याउन बाध्य भएर मात्रै हो। उनका बारेमा पछि छुट्टै लेख्नेछु)
या त सम! समको कविता ‘म पनि देउता मान्छु’ र ‘मृत्युपछिको अभिव्यञ्जना’ले त मेरो मगज गिजोलेको थिए। थुप्रै दिन म रन्थनिएको थिएँ। समका कविता पनि हाडे ओखर थिए।
उप्रान्त लेखनाथ, मोहन कोइराला, ईश्वरवल्लभ। या अन्य सबै कवहरु….
खासमा हरेकका कविता फरक छन्। पृथक छन्। र हरेकका आ- आफ्नै शैली छन्। कविताको अलग व्याकरण र मानक छन्। उबेलादेखि योबेलासम्मै। हरेक कवि उत्तिकै प्रिय छन्। र तिनैमध्ये भूपी मेरो नजिकका मार्गदर्शक बनेर आए।
भूपीका कविता छोटा लाग्छन्। तर दमदार। आगो जस्ता। र छोटा नलागेका कविताहरु पनि एकै झिमिकमा सकिएजस्तै लाग्छन्। जतिबेला मैले पहिलोपटक पढेको हुँदो हुँ- हो! खासमा म पनि त त्यस्तै कविता लेख्न खोज्थेँ नि!
साँघुरो गल्लीमा मेरो चोक छ।
याहाँ के छैन? सबथोक छ।
कति सजिलै लेखिने रहेछ है कविता त?
हिंड्दा–हिंड्दै केही सम्झेर
बटुवा बाटोमा हाँसेझैँ
किसानको हृदय अन्न बनेर
खेतको माटोमा हाँसेझैँ
तिमी हाँस्ता यस्तो लाग्छ प्रिये!
तिमी मेरो साटोमा हाँसेझैँ।
मैले चाहेको, लेख्न खोजेको कविता यस्तै त थियो! यही नै थियो। जो शब्दको थुप्रो नहोस्। नबुझिने भाषा, क्लिष्ट शैली, के लेख्दैछु र के भन्न खोज्दैछु भन्ने कुरो स्वयं कविलाई नै थाहा नभएका, घुमाउरो व्याख्या अनि वादहरुको भुमरी कसले पढिराख्छ? कविता होस् त सरल होस् न! बुझिने होस्, ठोकिने होस्, साधारण कुरा भनेजस्तो गरेर गम्भिर बनाओस्, सोचमग्न बनाओस्। तब पो कविता! भूपीका जस्तै।
यो मेरो चोकमा
देवताले बनाएका मानिस र
मानिसले बनाएका देवता
यी दुवैथरीको निवास छ।
तर यहाँ यी दुवैथरी उदास छन्।
दुवैथरी निराश छन्।
भूपीको शैलीमा भूपीका जस्ता कविता लेख्ने भूपी मात्रै हुन् भन्ने लाग्छ। न पहिले थिए न पछि आउनेछन्। ना भूतो-ना भविष्यति!
मलाई त लाग्छ भूपी जत्तिको कवि अर्को छैन।
तपाईँलाई त्यस्तो लाग्दैन र?
केही लेख्छन्
यसो हेर्छन्
चित्त बुझ्दैन
अनि केर्छन्
पुन: लेख्छन्
पुन: हेर्छन्
लामो सास फेर्छन्
कठैबरा, बिचरा
‘भूपि’ शेरचन!!