केही काम बाँकी छ अझै-
केही सामान मिलाउनुछ
एक घुट्को पानी पिउनुछ
झ्याल ढोका लगाउनुछ
कसैसँग बिदाइको हात हल्लाउनुछ
कसैको आँशु पुछ्नुछ र
वर्षौँलाई पुग्ने गरि दिनुछ मुस्कानको उपहार
लिनुछ एक बाकस सम्झनाको कोसेली
अनि
धित मरुन्जेल हेर्नुछ एकपटक शहरलाई ।
फेरि
एक जनालाई केही भन्नु पनि छ
अलिकति हिसाब मिलाउनुछ ।
हतार छैन-
बिल्कुलै हतार छैन
हतारको होइन पनि त जिन्दगी !
यात्रा जो गर्नुछ
लामो यात्रा…
डाँडा पर्वत नाघ्नुछ
गल्ली र गल्छेडाहरु छिचोल्नुछ
खोला तर्नुछ।
जँघार तर्न निस्किएको मान्छे
सँघारमै ठेस लाग्नु
राम्रो होइन !
तर
केही काम बाँकी छ अझै-
सोच्दैछु
यात्रा पक्कै कठीन हुनेछ
र था’छ
बाटो लामो पनि हुनेछ ।
कोही साथी पो लानुपर्ला कि?
हात थामिदिने
बाटो देखाइदिने
सँगसँगै पाइला चालिदिने !
होस्
लड्नेछु र उठ्नेछु
हिँड्नेछु र भिड्नेछु
जे गर्नुपरे
आफैँ गर्नेछु
एक्लै गर्नेछु ।
एक्लै तर्नेछु खोला खोल्साहरु
एक्लै थामिनेछु पहाडका अक्करेहरु
एक्लै पिउनेछु ल्याएर मूलको चिसो पानी
एक्लै सुस्ताउनेछु पिपलबोटको चौतारीमा
तर
याचना गर्ने छैन ।
कसैसँग पनि गर्ने छैन…
बिदा गर्न हतार भो?
एकछिन पख्नुस् न-
केही काम बाँकी छ के अझै !