ऊ आफ्नै सीमामा
तटस्थ अडिएको छ
मानौँ-
अनुशासन भङ्ग गर्नुको
क्रुरता खेपेको छ ।
निर्निमेष हेरि-रहेका छन्
उसका आँखाले म भएतिर
मानौँ-
उसले पनि
यो ब्रह्माण्डबारे प्रश्न गरेको छ ।
केही अभाव भएजस्तो
केही फरक भएजस्तो
तर
के-को अभाव थियो
र के फरक थियो ?
न उसले केरकार गर्यो, न मैले !
ती प्रश्नका घेरामा एकाकार भयौँ हामी
हेरीबस्यौँ चराको उडान- थामेर उड्ने चाह
केलाइरह्यौँ समयका मायावी गणित
स्मृति बनिरह्यौँ त्यो साँझको
छुटिनु अघिको म्याउँले जाने संकेत गरी
ऊ पुग्यो पर कतै
कतै…
र म,
म बन्देजमा छु आफ्नै स्वतन्त्रताको
मुग्ध छु यी कागजका रेखाहरुमा
समर्पण
अब,
कबुल कालको मात्रै हुनेछ
र यो धैर्यता
उसैका निम्ति… !