कविता लेख्नु थियो
कथ्नु थियो मनको कथा
र निथार्नु थियो
मगजमा खुज्मुजिएका विकारहरुलाई ।
जस्तो
केही प्रेमका कुरा लेख्न थियो
केही वेदनाका व्यथा लेख्न थियो
केही सान्त्वनाको याचना थियो
केही अध्यात्म
केही दर्शन
केही कुण्ठा-क्रन्दन
त केही मनको स्पन्दन ।
कसलाई भन्ने?
कसलाई सोध्ने ?
कसले सुन्ने ?
कसलाई सुनाउने ?
र सबैभन्दा मुख्य कुरो
कसले बुझाउने ?
कसले बताउने ?
अन्ततः
सबैलाई बोलाएँ मैले
सबैलाई बोलाउँदै गएँ
आफूभित्र-
हावा आयो फर्फराउँदै
र बत्तिएर ल्यायो केही पहाडका गीतहरु ।
घाम आयो बिस्तारै
र उज्यालो बनाइदियो मनको क्षितिज ।
पानी बर्सियो झरी बनेर
र भिजाइदियो शब्दको बाँझो बारी ।
बादल आयो गड्गडाउँदै
र बुझायो अनुप्रासको मृदङ्ग ताल।
आकाश आयो
र देखाइदियो कल्पनाको अनन्त दृश्य ।
गाउँ आयो
र देखाइदियो संघर्षको गोरेटो ।
शहर आयो
र सुनायो सपनाका विदारक कहानीहरु ।
पुराणहरु
मनैछेउ आए
र बिस्तारै फुस्फुसाए प्राचिन मन्त्रहरु ।
क्रमैसँग आए
वेद अनि उपनिषद्हरु
र एकलयमा आलाप लगाए दर्शनको गुह्य भेद-
ति ऋषिहरु
ति मन्त्रद्रष्टा ऋषिहरु
आए र केही बताइरहे
अस्पष्ट- अस्मेल- असाध्य- अपरिमेय ज्ञान
जस्तोः
आत्मन- ब्रह्मन
साकार- निराकार
सगुण- निर्गुण
माया- मोक्ष…
बताइरहे… बताइरहे…
ॐ
पूर्णस्य पूर्णमादाय
पूर्णमेवावशिष्यते॥
फेरि इतिहास आयो
एउटा अतीत बोकेर
र सुनायो पूर्खाका कथाहरु ।
वर्तमान आयो
कर्म बनेर
र देखायो जीवन-समरका व्यथाहरु ।
भर्खरै
भविष्यको सानो झलक देखियो
र बिलायो ।
म सोच्दैछु
साँची के ल्याएको थियो होला उसले ?