भूपि शेरचनको कविता- मेरो देश

जहाँ
हिउँ परेको रातमा
जून, धरतीलाई भेट्न
हिमकणहरुको साथमा
मुस्कुराउँदै ओह्रालो झर्छ,
र धरतीलाई सर्वाङ्ग हाँसेको पाएर
झन् बढी मुस्कुराएर
आकाशमा फर्कने गर्छ

जहाँ
आलुबखडाका हाँगा–हाँगामा
फुल्दछन् कुखुराका चल्लाहरु
जहाँ
मृगमरीचिका पछि लाग्नेहरुको यादमा
रुन्छन् धूपी र सल्लाहरु
जहाँ
मुटुको स्पन्दनझैँ उफ्री–उफ्री
खेल्छन् मृगशावकका हूल
जहाँ
पहराबाट छहराले
खोलामा हाम्फाल्दछ
जहाँ– रातमा पनि हिमचुलीले
आँगनमा घाम पाल्दछ

जहाँ
प्रत्येक पहाडको काखमा नदी
छातीमा छहरा
र निधारमा लेक हुन्छ
जहाँ
स–साना नदीहरुमा पनि
तूफानी समुद्रको वेग हुन्छ

जहाँ
बटुवालाई प्रत्येक झ्याङबाट
झ्याउँकीरीले गिज्याउने गर्छ,
प्रत्येक अँधेरी पँधेरोमा
जूनकीरीले ज्योति फिजाउने गर्छ
जहाँ
शीतल हावामा बुई चढेर
कस्तूरीको सुगन्ध डुल्दछ
जहाँ
एकबाजि आएर
घर फर्कन वसन्त भुल्दछ

जहाँ
बटुवालाई भन्ज्याङमा रोकेर
हिमाल पङ्खा हम्कन्छ
जहाँ
एक–अर्काको मुख हेरेर
नीलगिरि र धालागिरि चम्कन्छ
जहाँ
प्रत्येक रातमा आकाशले
मङ्गल–दीप सजाउँछ
जहाँ
प्रत्येक भोरमा धरतीले
एक गोरो छोरो जन्माउँछ
जहाँ
हरिया–हरिया पहाडका फरिया
अलिक तल सारेर
निर्मल, स्वच्छ र न्यानो घाममा
हिमालले सधैँ ढाड सेकेको हुन्छ

म जति टाढा भए पनि
त्यो मेरो देश
सधैँ मेरो मनले
सपनामा पाइला टेकेको हुन्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *