बाटैबाटो आएको थियो ऊ
बाटो खोज्दै
मैले औँला तेर्स्याएर देखाइदिएँ
निभ्नै लागेको सूर्य
र आँखैअगाडिको तमतन्न बाटो ।
कतै त जानु थियो होला उसलाई
कहाँ पो जानुथियो ?
बिर्सिएँ..
बाटो हो
यात्री भेटिन्छन्- छुट्छन्
जोडिन्छन्- टुट्छन्
खैर,
कुनै मोडमा कुनैदिन
उसैलाई भेटेँ भने मैले
पक्कै सोध्नेछु त्यतिबेला
पुग्यो कि पुगेन होला ऊ गन्तव्यमा !