माधव प्रसाद घिमिरेको कविता- नवयुवक

जूँघारेखी भरखर बसी मुस्कुराईरहेको
को होला त्यो कुन लहडमा गीत गाईरहेको
त्यो हो हाम्रै तरुण–वयको याद आईरहेको
डाकी नौला दिनहरू नयाँ गीत गाईरहेको ।
(१)

तिम्रा लामा सबल भुज छन् शैल बोक्लान् समान
छाती तिम्रो दृढतर छ त्यो वज्र रोक्लान् समान
तिम्रै कन्धाउपर युगको भार राखीदिउँ कि !
मागी तिम्रै हृदय म पनि बैँसमा फर्किऊँ कि !
(२)

डाँडाकाँडा वन चहुरमा घाम लागीरहेछ
लाखौँ लाखौँ सुख र दुःखमा लोक लागीरहेछ
छिः यो बेला नबस घरमा निस्क आलस्य फाली
हे तन्नेरी उठ न पृथिवी तीन बित्ता उचाली ।
(३)

घेर्छन् छाया जब विपतका दूरमा गर्जिएर
छिप्छन् मान्छे जब घरघरै त्रासमा तर्सिएर
त्यो बेला हे युवक ! खतरा खोज्नका निम्ति निस्क
आँधीबेरीसित जुध तिमी कालका साथ जिस्क ।
(४)

अग्ला सिंहासनहरू हिले क्रूर अन्याय काँपे
सामन्तीका खँडहरमहाँ क्रान्तिका दूत नाचे
काला धब्बा रगतहरूका खुर्किए स्वार्थ हारे
गर्जी गर्जी जब युवकले ज्यानको आश मारे ।
(५)

सुन्गाभाका कुसुम वनमा आज वैशाख उन्छिन्
छाया ढालीकन विरहमा आज आषाढ रुन्छिन्
बाली ज्योत्स्ना शरद रजनी पर्सि पर्खीरहन्छिन्
यौटी बाला तनमन तिमीलाइ अर्पीरहन्छिन् ।
(६)

यो छायांमा प्रणय सुखमा गाउने छैन बेला
हेर्छन् हाम्रै मुखतिर पुछी आँसु चीसा परेला
यी हारेका हृदयहरूले उन्दछन् अश्रुहार
गर्छिन् फुस्रो शिशिर ऋतुमा मृत्यु हाम्रो पियार ।
(७)

हावा लागी शिशिर ऋतुका पात काँप्छन् पुराना
डाकी क्वैली कुसुम–वनमा बोल्छ नौलो जमाना
नौला नौला लहरहरूमा जिन्दगी हेर चढ्छ
हाँक्छन् लाखौँ युवकहरूले हेर–संसार बढ्छ !
(८)

यो छायामा जब युवतिले गीत क्यै गाउँदिनन्
यो बाटोमा जब युवकले जीत क्यै ल्याउँदैनन्
डाकी क्वैली अनि वनवनै बोल्न छोड्ला वसन्त
निभ्लान् तारा ग्रहहरू त्यहीँ सृष्टिको हुन्छ अन्त्य ।
(९)

पैलो झुल्कासरी हिमचुली देशको टाकुरामा
नौलो बान्की बलसरि रह्यो वीरका पाखुरामा ।
बोकी आऊ नवकिरणको वाण हे नौजवान
छोईदेऊ नव लहरले विश्वको प्राण प्राण ।
(१०)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *