जर्मनका धावैमा होस्
वा बर्माको घेरामा
मलायाका रवडका वनमा होस्
या नेफा र लद्दाखका पराइ लडाइँमा
ती जो मरे
विना कुनै स्वार्थ
विना कुनै अर्थ
व्यर्थ
तीतरा, बट्टाई र भक्कूको राँगाजस्तै
अरुको हा…हा…….हामा लागेर
अरुको थपडी र नाराले जागेर
अरुले ख्वाएको जाँड र कटले मात्तिएर
‘आयो गोर्खाली’ भन्दै
(गोरु खालि बन्दै!)
युद्धमा हाम्फालेर
ती मरेका लोग्नेहरुको पेन्सनले
आफ्नो छोराको पास्नी गर्ने
ए अभागिनी स्वास्नीहरु हो !
ती मरेका छोराहरुको आर्जनले
आफ्नै चौरासी पूजा गर्ने
ए बूढा–बुढीहरु हो !
ती वितेका साथीहरुको जर्सी लगाएर
रोदीमा सोल्टी फकाउने
ए तन्नेरी मान्छेहरु हो !
ती मरेका प्रेमीहरुको कोसेेली चुरा लाएर
डोलीमा बस्ने
ए ब्याहुली जेठी–कान्छीहरु हो !
खूपै सुहाएको छ तिम्रो छातीमा
यी तक्मा ‘परम वीरचक्र’ र ‘भिक्टोरिया क्रस’को
तर के आउँदैन यसबाट कहिलेकाहीं
ओस्सिएको गन्ध
तिम्रो आफन्तहरुको लाशको !