निर्बन्ध निबन्ध

गुगलले भन्यो- जोन्सनका अनुसार ‘अव्यवस्थित एवम् विश्रृंखलित विचार, अपरिपक्व भावना तथा अपरिपक्व एवम् अनियमित क्रम भएको लेख नै निबन्ध हो।’
यदी त्यो त्यस्तै नै हो भने मलाई निबन्ध मन पर्छ।

निबन्ध भन्ने एउटा बिधा पनि हुन्थ्यो। जहाँ शब्दको निर्बन्धता हुन्थ्यो। अभिव्यक्तिको स्वच्छन्दता हुन्थ्यो। मनको स्वतन्त्रता हुन्थ्यो। भाषाको बेलगाम वेग हुन्थ्यो। भावहरुको आरोह-अवरोह अनि अनुभूतिको जोड-घटाउ हुन्थ्यो। कुनै बेला, कुनै समय, कुनै कालखण्डमा नेपालमा निबन्ध पनि लेखिन्थ्यो भन्ने आज सोच्छु र इतिहासप्रति धन्य हुन्छु।

बिराट नेपाली साहित्यिक इतिहाससँग। जहाँ देवकोटा जन्मिएथे। लामिछाने जन्मिएथे। भैरव अर्याल जन्मिएथे। श्याम प्रसाद शर्मा, ताना शर्मा, हृदय चन्द्र सिं प्रधान, धच गोतामे जन्मिएथे। म ति प्रिय लेखकहरुसँगै धन्य हुन्छु।

निबन्धहरु…
देवकोटाका निबन्धहरु। लामिछानेका निबन्धहरु। भैरव अर्यालका आन्द्रै बटार्ने हाँस्य चेत। अनि अरु अरु.. थुप्रै…। कुनै यात्रा वृत्तान्तका नाममा, कुनै हँसाउने हाँस्य/ व्यंग्यका रुपमा, अध्यात्मका पहेलीहरुमा, लेखकका उत्ताल मनोवेगका बहावमा अनि उसले भोगेका र लेख्दा लेख्दै बहकिएका तमाम अनुभव र अनुभूतिका अक्षरहरुका रुपमा। जसलाई पढ्दा आनन्द आओस्। स्वाद आओस्। मिठास् आओस्। निमग्न हुन पाइयोस्। निबन्धमा निमग्न हुनुजत्तिको आनन्द के छ र?

देवकोटाले शब्दलाई प्राथमिकता दिएनन्। आत्माले देखे र लेखे। मनै देखी लेखे र लेख्दा लेख्दै लेखिएका कुराहरु तदनुसार लेखे। संवेदनालाई पोखिन मात्रै दिए। भावनालाई बग्नै मात्र दिए। सम्पादित विचारहरुमा पोखिएनन्। काँटिएका-छाँटिएका बान्की पढ्नु छ भने देवकोटा नपढे हुन्छ। देवकोटा पढ्न देवकोटै हुनुपर्छ। देवकोटै सोच्नुपर्छ। र देवकोटै बन्नुपर्छ। देवकोटाका निबन्धमा डुब्न सके मात्रै देवकोटा पढ्न सकिन्छ।

विश्वविद्यालयलाई यन्त्र बनाउने कारखाना कसैले भन्न सक्छ? डाक्टरलाई अविद्याको पराकाष्ठा कसैले भन्न सक्छ? साधुलाई गाली दिन कसैले सक्छ? ठाडो.. तर घुमाउरो भाषामा। ठुँगेर समाजका धुरन्धरहरुलाई, तिनैसँग साथ बस्न कोही सक्छ? सायद सक्छ। जसरी देवकोटाले सके। लेखे। ठुँगे। हिर्काए। शब्दका धारहरु लाइरहे। प्रहार गरिरहे। निबन्ध लेखिरहे। निबन्धमा बोलिरहे। हो, देवकोटाले जसरी कसैले सक्दैन। देवकोटाका निबन्धमा त्यही चिज खास छ। देवकोटा विराट छन्।

के तपाईँले लामिछाने पढ्नुभयो?

कस्तो बान्कि! कस्तो मिठास्। मानौँ जीवनका मसिना कुराहरुलाई थुपुक्क टिपेर शब्दमा उनिरहेका हुन्छन्। मानौँ केही देखाइरहेका हुन्छन्, सिनेमाको पर्दामा जस्तै। औपन्यासिक पात्रहरुलाई जीवनमा खोज्छन्। र जीवनका पत्र खोलिरहेका हुन्छन्, जसरी प्याजका पत्र पत्र खोल्छन्। तर एकदमै एब्स्ट्रयाक्ट..। व्यक्तिचित्र, मनोवाद, संवाद, वर्णन अनि अध्यात्म र विज्ञानको एकै ठाउँमा प्रयोग। के छैन लामिछानेमा? के लेख्दैनन् उनी?

अनि,
भैरव अर्याल, जो हँसाउँदै हँसाउँदै गम्भिर बनाउँछन्। शब्द शब्दमा बग्न मन हुन्छ। डुब्न मन हुन्छ। हराउन मन हुन्छ। जो आफैँ जीवनको घानमा हार्योज उसले जीवनको सुन्दरता कसरी लेख्न सक्यो? त्यस्तो उद्वेलित मनले कसरी हाँस्य लेख्यो होला? जीवनलाई निरस मानेर जसले जीवन नै विसर्जन गरिदियो, उसले कसरी एक एक रस निचोरेर शब्दमा उतार्योन? पढ्छु र भावुक हुन्छु। पढ्दा पढ्दै भावुक हुन्छु।
मेरो एक थोपो आँशु भैरव अर्यालका नाममा…

यात्रामा, हिँडाइमा, पहाड चढ्दा, घुम्दा, डुल्दा अथवा जिवनका, दैनिकिकीका यावत घटनाहरुमा सौन्दर्य देख्ने र साहित्य लेख्ने ताना शर्मा… अँ घनघस्याको उकालो कसले पो नपढेको होला र?

आइमाई साथी सम्झिनुहुन्छ?

….
तर निबन्ध बिस्तारै हरायो। साँची कता हरायो हँ?

कहाँ‌ हरायो निबन्ध? हरायो हैन, बिलायो। कबितामा? कथामा? उपन्यासमा?

आजकल निबन्ध लेखिँदैनन्। लेखिए पनि कम लेखिन्छन्। लेखिएकाहरु पढिँदैनन्। पढिए पनि कम पढिन्छन्। लेख्ने लेखक छैनन्। पढ्ने पाठक छैनन्। जीवन यान्त्रिक छ। यन्त्रले पढ्दैन। यन्त्र कम्प्युटरका कोडिङ्हरुमा चल्छ। उही सिस्टममा। उही रिपिटेसनमा। हर दिन, हर क्षण।
उठ, पुछ, खा, चुठ, काम गर, सुत। रिपिट‌… रिपिट… भैरव अर्यालको कबिता जस्तै। ऐजन् ऐजन् लम्पसार…

निबन्धमा बाँधिने झ्याउलो कसले बोकिरहोस्?

जीवनको सौन्दर्य हरायो। सौन्दर्यलाई बोल्ने कला हरायो। साहित्य हरायो। निबन्ध हरायो। हरायो हैन लुक्यो। तर कता?

साहित्यले साहित्य गुमाएको धेरै भयो। साहित्यका नाममा सनसनी लेखिन्छ आजकल। पटकथा लेखिन्छ। चमत्कार लेखिन्छ। मनोरञ्जन लेखिन्छ। तर साहित्य लेखिन्न।

उपन्यास छ। तर खोक्रो छ। कबिता छ। तर स्वादबिहिन छ। कथा छ। तर फेन्सी छ। गजल छ। तर बाजारु छ। गीत छ। तर कर्कस छ। निबन्ध छ। तर गुमनाम छ। मलाई निबन्ध हराएको चित्त बुझ्दैन।

निबन्ध उपन्यासमा गाभियो। घुल्यो। र बिलायो।
निबन्ध कथामा घुस्यो। संवादमा बहकियो। र बिलायो।
निबन्ध कबितामा लत्पतियो। कबितालाई निबन्धको ठिमाहा बनायो। र त्यसैमा बिलायो।

निबन्धबाटै निबन्ध हरायो। यसरी निबन्धको आत्मा मर्दै गयो।

निबन्ध आफैँमा पूर्ण थिएन र? त्यस्तो पूर्ण जहाँबाट पूर्ण निकालिदिए पनि पूर्ण नै बाँकी रहन्छ। निबन्ध त्यही त थियो।
पूर्णमदः पूर्णमिदं पूर्णात्पूर्णमुदच्यते…

दर्शनका मोटा ठेलीहरुले बुझाउन नसकेको कुरा निबन्धको एउटै हरफले बुझाउँथ्यो। एS देवकोटाको ‘कला र जीवन’ निबन्ध पढ्नुभाछ?

निबन्ध आफैँमा कथा थियो। कथाको पुरा भाव बोकेर पनि निबन्धमा आफ्नो अस्तित्व बचाइराख्न सक्ने क्षमता थियो। भैरव अर्यालको ‘महापुरुषको सङ्गत’ पढ्नुस् त!

निबन्ध संवाद हो। निबन्ध गनगन हो। निबन्ध भावना हो। भाव हो।

‘पाताल प्रवास’ पढ्नुस् त! निबन्ध यात्रा पनि हो भन्ने लाग्दैन?

के निबन्ध सानो छ र? पक्कै छैन। निबन्ध सानो छैन, बिशाल छ।

निबन्धले आत्मालाई चेतनाको स्तरबाट माथी उठाउँछ। सोचको दायरा बढाउँछ।

उद्धरेदत्मनात्मानं…

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *