प्रेम लेख्न सकिन्न
तर पढ्न सकिन्छ-
आँखामा, ओठमा
आँशुमा, मुस्कानमा..
प्रेम बोलेर मात्रै पुग्दैन
महसुस गर्नुपर्छ-
हावामा, मनमा
श्वासमा, धड्कनमा…
मेरो संसारको
पल्लो कुनामा बसेकी
ए मेरो साथी-
मेरो प्रेम बुझ्नुछ भने
मेरो नजिकै आऊ
आँखामा हेर
गहिराइ खोज
र
श्वासको गति सुन्दै
छातीमा निदाऊ ।
तिमीले
आफैँ बुझ्नेछौ त्यसपछि
प्रेमको परिभाषा ।