शुद्ध नेपाली नै बोल्नुपर्छ भन्ने त मलाई पनि लाग्दैन । कतिपय शब्दहरु अङ्ग्रेजी या हिन्दीका पनि मिठा सुनिन्छन्। र बोलिन्छ । बोल्न सहज पनि हुन्छ । नेपाली भाषाको तुलनामा ओजिलो पनि लाग्छ । तिख्खर पनि लाग्छ । ठ्याक्क जिब्रो पनि बस्छ । अनि कतिपय शब्दको त विकल्प पनि हुन्न र प्रयोग गर्न बाध्य भइन्छ ।
जस्तो भनौँ न- कसैको उचाई सोध्नुपरे ‘तिम्रो हाइट कति छ?’ भनेरै सोधिन्छ । अझ त्योभन्दा एक कदम बढेर कतिपय दैनिक प्रयोग हुने शब्दहरुमा पनि अङ्ग्रेजी घुसाइन्छ । खाना ‘टेस्टी’ नै ठिक लाग्छ ‘स्वादिलो’का ठाउँमा । तरकारी हल्का ‘ग्रेभी’ नै मिठो हुन्छ । परिवारमा ‘ब्यालेन्स’ मिलाएर राखेकै राम्रो हुन्छ । ‘रेडीमेड’ लुगाभन्दा ‘टेलर’मा सिलाएकै लुगा सुहाउँछ ।
खासमा मेरो दुखेसो त्यसमा छैन पनि । भाषा हो। जसरी सहज लाग्छ, त्यसरी बोले भयो ।
तर कहिलेकाहीँ भने केही कुराले च्वास्स छुन्छ । छुँदो रहेछ ।
मेरो एकजना चिनजानको दाइ छन् । तिनकहाँ गयो कि मलाई दिक्क लागेर आउँछ । दुई छोरा छोरी छन् । आपसमा बात मार्नुपर्यो भने पनि हिन्दी बोलेर हैरान लाउँछन् । मोटु-पतलु, छोटा भीम लगायतको कमाल पनि हुनुपर्छ । अथवा युट्युब/ फेसबुकतिर देखिने भ्लग/ भिडियोहरुको पनि प्रभाव हुनसक्छ । त्यही हेर्छन् । त्यस्तै सिक्छन् । खेल्दा, खाँदा, बोल्दा हरेक कुरामा हिन्दीको मिश्रण अनौठो लाग्ने गरि बोल्छन् । र अचम्मको कुरा के भने बाउ आमा पनि छोराछोरीको कुरामा हाँस्दै साथ दिन्छन् । र भरसक हिन्दीमै जवाफ फर्काउन खोज्छन् ।
हिन्दीको प्रभाव त हामीमा पनि थियो । विशेष त सिनेमाको प्रभाव थियो । जानी नजानी बोल्न पनि खोजियो । तर त्यो नक्कल मात्रै थियो । ‘हिरोको’ नक्कल, ‘भिलेनको’ नक्कल, ‘डाइलगको’ नक्कल । कहिलेकाहीँ ‘एक्सन सिनको’ समेत नक्कल गरिन्थ्यो । ‘डाइलगबाजी’ हुन्थ्यो । तर त्यसलाई दैनिक जीवनमै प्रभाव पार्ने गरि दख्खल दिन भने दिइएन । सिनेमालाई सिनेमाकै रुपमा हेरियो । बुझियो ।
हिन्दीकै कुरा गर्दा हिन्दी साहित्यमा मेरो विशेष रुची थियो । र त्यो रुची अझै यथावत छ । अज्ञेय, दिनकर देखि गुलजारसम्मै । कति कविताबाट प्रभावित समेत भइयो । कविबाट प्रभावित भइयो । नक्कल गर्न पनि खोजियो । तर मूल कुरा त्यही हो, भाषामै प्रहार गर्ने हदबाट भने जोगाएरै ल्याइयो ।
केही दिन अगाडी एकजना चर्चित ‘नेपाली लेखकको’ कुनै चर्चित किताब पढ्दै थिएँ । पढ्दा पढ्दै यति अल्मल्याउने भाषा थियो, बिचैमा छोडिदिएँ । कतै उर्दू छ, कतै हिन्दी छ, कतै संस्कृत छ, कतै अङ्ग्रेजी छ । वशमा चल्नु हो भने फ्रेन्च, जर्मन, मन्दारिन, रसियन सबै घुसाउँथेँ झैँ गरि लेखक खेलेका थिए शब्द शब्दमा । भाषा खेलाएका थिए । उनको त्यो अद्भूत भाषिक चमत्कारले म चमत्कृत मात्रै भइनँ सँगसँगै भ्रमित पनि भएको थिएँ ।
माइन्डब्लोइङ्.. फ्यान्टास्टिक… गजब-ए-तारिफ…
हुन त भाषा प्रयोगमा मैले बोल्ने मात्रै पवित्र हो भनेर पनि म मान्दिनँ । मेरो भाषा पनि अछुतो छैन । नेपाली भाषा आफैँमा शुद्ध पनि होइन । जुन जति शुद्ध भयो त्यो त्यती निचोरिन्छ। चाउरिन्छ । मेरो भाषा त्यसमा भने उदार छ । चाउरो छैन । फैलिएको छ । हिन्दी, उर्दू, फारसी, अङ्ग्रेजी मात्रै होइन नेवारी, मैथिली, भोजपुरी लगायत अनेकौँ अनेक स्थानीय र विदेशी भाषा मिस्सिएर एउटा नेपाली वाक्य बनिरहेको हुन्छ । त्यसमा शुद्धता खोज्नु बेकारको कुरा पनि हो । “भाषा त हाम्रो जमानामा हुन्थ्यो, अहिलेकाले सब ध्वस्त पारे” भन्ने किसिमको रुन्चे गनगन गर्न पनि हुँदैन ।
यदि कसैले ‘यो रुम फुल फर्निस्ड एयर कन्डिसन्ड रुम हो’ भन्यो भने पनि त्यसले नेपाली नै बोलिरहेको हुन्छ । शुद्धताको कुरा छाडिदिने हो भने त्यो पूर्ण नेपाली वाक्य बोलिरहेको हुन्छ । जम्मा आठ वटा शब्द भएको उक्त वाक्यमा सुरु र अन्तिमको दुईलाई छाडेर बाँकी सबै नेपाली इतर शब्द भइकन पनि त्यो नेपाली नै बोलिरहेको हुन्छ । नेपाली भाषा नै बोलिरहेको हुन्छ । बुझ्नेले पनि सहजै बुझिरहेको हुन्छ । अब त्यसमा नेपाली नै बोल्नुपर्छ भनेर एयर कन्डिसनका ठाउँमा ‘वातानुकुलित’ राख्न खोजियो भने बरु त्यो भद्दा सुनिन्छ । असहमति त्यसमा होइन । विकल्पमा होइन । तर हरियो बुझाउनलाई जबरजस्ती ‘ग्रिन’ भन्नु, भुटेको मकैलाई जबरजस्ती ‘पपकर्न’ भन्न खोज्नु, सहजै जिब्रो चलाउन सकिने तरकारीका नामहरु समेत जिब्रो बटारेर अङ्ग्रेजीमै भन्न खोज्नु, मामा/काका जस्ता पूर्ण नाम-साइनो भएका साइनोलाई समेत बिगारेर बोल्न खोज्नुले भने अलिकति कानमा तितो लाग्ने रहेछ । हुन त पुस्तान्तरणको कुरा पनि होला । तर पछिल्लो पुस्तालाई के बोल्न सिकाउने पनि अघिल्लो पुस्ताकै कर्तव्य हो । जस्तो सिकायो त्यस्तै बोल्छन् । थाहा नदिनु नसिकाउनु अघिल्लो पुस्ताको पनि गल्ती हो ।
नेपाली भाषाको प्रयोगमा ट्विटर लगायत सञ्जालतिर बेलाबेला चर्काचर्की परिरहेको हुन्छ । धेरैले त देवनागरी लिपीमै लेख्छन् । केही अझै पनि रोमनबाट उठ्न सकेका छैनन् । बाध्यता पनि हुनसक्छ । तर बाध्यता पनि के भन्नु र ! मोबाइल या पिसीमै पनि नेपाली टाइप गर्नु असहज पनि छैन । गाह्रो कुरै होइन । खाँचो थोरै चासो र थोरै मेहेनतको मात्रै हो । रोमन टाइप गर्ने औँलालाई देवनागरी टाइप गर्न कुनै अप्ठ्यारो पर्छ जस्तो पनि लाग्दैन । मलाई लाग्छ त्यो असहजता होइन, अल्छी हो ।
हुन त शुद्धाशुद्धी हेर्न लेन्स बोकेर बसेकाहरु पनि धेरै छन् । आठ शब्द लेख्दा सात शब्दमा रेजा लगाउनेहरुसँग डराएर पनि धेरैले लेख्न हात कमाएको हुनसक्छ । मलाई पनि डर छ । डर छ र त, भरसक हो कि होइन लागेका शब्दहरु दोहोर्याएर हेर्छु । शङ्कै लागेमा, मोबाइलमा छ शब्दकोश- हेर्छु । गल्ती र सुधार ठूलो कुरा होइन । सुधार्छु । सच्याउँछु । लाज मान्नुपर्ने, डराउनुपर्ने कुरो पनि होइन । गल्ती हुन्छ, सुध्रिन्छ । सुधार्न सकिन्छ । नसकिए पनि लेखिरहन त सकिन्छ । अभिव्यक्त हुन त पाइन्छ । मज्जाले पाइन्छ ।
र यही कुरा हामीले हाम्रा पछिल्ला पुस्तालाई बुझाउन जरुरी छ । विदेशमा बसेर “Language is just a medium of communication” भन्नेहरुसँग मेरो कुनै बिमती छैन । उनीहरुका सन्तान हुन् । अलग्गै देशमा छन् । नेपाली नसिक्दा/ नबोल्दा केही फरक पर्ने पनि होइन । त्यतै गरिखान त्यतैको भाषामा दख्खल राखे पुग्ला । नेपाली नसिके पनि गुजारा चल्ला । चलिरहेकै होला । तर बिमती नेपालमा रहेकाहरुसँग हो । यहीँ पढिरहेका विद्यार्थीहरुसँग हो । अभिभावकहरुसँग हो । ‘पपया’लाई मेवा भनिन्छ भनेर बुझाउनु भन्दा पहिला मेवा भनेरै चिनुन् भन्नेमा हो । क्याट चिन्नुभन्दा पहिला बिरालो चिनुन् भन्नेमा मात्रै हो । भाषा फगत भाषा मात्रै नभएर विरासत पनि हो । इतिहास पनि हो । पहिचान पनि हो । राष्ट्रियता पनि हो । जसरी हेर्यो त्यस्तै हो ।
नत्र त के छ र ? जसरी भए पनि बोल्नु हो । बोलेको बुझ्नु हो । बुझाउन सक्नु हो। मुख्य कुरा संवाद हुनु हो । संवादलाई माध्यम चाहिने हो । भाषा एउटा माध्यम हो । मेरा ति दाइ/ भाउजुले झैँ मुस्कुराउँदै चुपचाप समर्थन गराइदिँदा पनि फरक पर्ने कुरा केही छैन । आकाशै खसिहाल्ने पनि होइन ।
हुन त घोत्लिएर सोचे- भाषामा त्यस्तो के नै छ र ?